अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार भूमिका श्रेष्ठलाई

अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार भूमिका श्रेष्ठलाई

काठमाडौँ : यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित भएकी छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासले मंगलबार यसबारे जानकारी दिएको हो ।

अमेरिकी राजदूत र्यान्डी बेरीले भूमिकालाई बधाइ दिँदै ट्वीटमा लेखेका छन्, ‘नेपालमा एलजीबीटीक्यूआई समुदायप्रतिको समर्पणका लागि विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई बधाइ दिन पाउँदा म रोमान्चित छु ।’

यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि अथक मेहेनत गरेकोमा भूमिकालाई यस वर्षको पुरस्कार प्रदान गरिएको बताइएको छ । अमेरिकी दूतावासले लेखेको छ, ‘एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि यस वर्ष अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित हुनुभएकी नेपाली अभियन्ता भूमिका श्रेष्ठलाई धेरै-धेरै बधाइ ।’

अमेरिकी सरकारको उक्त पुरस्कार नेपालले लगातार दोस्रोपटक जितेको हो । यसअघि २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले उक्त पुरस्कार पाएकी थिइन् । साथै मुस्कान उक्त पुरस्कार पाउने सबैभन्दा कम उमेरकी महिला पनि थिइन् । अमेरिकी सरकारले १५ वर्षयता विश्वभरका ७५ भन्दा धेरै देशका महिलाहरूलाई उक्त पुरस्कार प्रदान गरिसकेको छ।

प्रतिक्रिया