यौन दुर्व्यवहार आरोपितमाथि भीड जाइलाग्दा प्रहरीको मृत्यु

यौन दुर्व्यवहार आरोपितमाथि भीड जाइलाग्दा प्रहरीको मृत्यु

विराटनगर : यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरीमाथि आक्रोशित भीडले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएको छ । मोरङको लेटाङ–५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

होलीका दिन गत शुक्रबार रङ खेल्दै घरमा आएका शिक्षक मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएकी थिइन् । सामाजिक शिक्षा पढाउने ५६ वर्षीय पौडलको विषयमा छलफल गर्न आइतबार विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसेको थियो । बैठकले पौडेललाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेको थियो ।

आरोपित शिक्षकलाई बाहिर निकाल्दा आक्रमण हुन सक्ने आकलन गर्दै शिक्षकहरूले प्रहरीलाई नै विद्यालय परिसरमा बोलाएका थिए । स्थानीय प्रशान्त निरौलाका अनुसार विद्यालयमा छलफल चलिरहँदा आक्रोशित भीड पस्यो र शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गर्यो । स्थिति नियन्त्रणमा लिन आएको प्रहरीसँग झडप भएको हो ।

यौन दुर्व्यवहार आरोपित पौडेललाई नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार आक्रोशित भीडले छुरा प्रहार गरेको थियो । महिला प्रहरी श्रेष्ठको शव राति ११ बजे कोसी अस्पतालमा पुर्याइएको छ । उनको घाँटीमा धारिलो हतियार लागेर ठूलो प्वाल परेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।

भीडले सवारीसाधनमा आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । लेटाङ–८ का मिलन खड्का र आयुष लिम्बूलाई प्रहरीको गोली लागेको छ । नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका उनीहरूको अवस्था सामान्य रहेको प्रजिअ दाहालले बताए । घटनामा थप १६ जना सुरक्षाकर्मी घाइते भएको उनको भनाइ छ । घाइते प्रहरीको कोसी र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया