कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु हुने

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु हुने

काठमाडौँ : कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगरमा यसै आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतबीच मिर्गौला फेल भएका बिरामीहरुको लागि प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काबीच बिहीबार सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षबीच यसै आर्थिक वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने, कर्णाली प्रदेशअन्तर्गत विभिन्न अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने समझदारी भएको छ ।

‘कर्णाली जस्तो दूरदराजको पिछडिएको प्रदेशमा समेत आम व्यक्तिको घरदैलोमै यसै वर्षदेखि मिर्गौला प्रत्यारोपणजस्तो जटिल उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिनेछौं’, कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.खड्काले भने, ‘हाम्रो अस्पताल दुर्गममा भए पनि ४ वटा मोडुलर अपरेसन थिएटर लगायतका उच्च सुविधायुक्त गुणस्तरीय अस्पताल हो ।’

२ सय ५० शय्या क्षमताको उक्त अस्पतालमा आईसीयू, कार्डियाक आईसीयुलगायतका उच्चस्तरीय सुविधा उपलब्ध छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सेवाको थप विस्तारसँगै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा विस्तार गर्ने नीतिअन्तर्गत कर्णालीको प्रदेश अस्पतालसँग सहकार्य थालिएको केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए ।

प्रतिक्रिया