पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडौँ : २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।

सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए । तमलोपा अन्य पार्टीहरुसँग एकीकरण गर्ने निष्कर्षमा पुगेपछि त्रिपाठी, गुप्ता लगायतका नेताहरु असन्तुष्टि जनाउँदै एकीकरण प्रक्रियामा सामेल भएका थिएनन् ।

उनीहरुले स्वतन्त्र समूह बनाएर गत चुनावमा एमालेकै चिह्नमा चुनाव लड्ने गरी सहकार्य गरेका थिए । अहिले त्रिपाठीले भने जनता प्रगतिशील पार्टी नामक नयाँ दल गठन गरिसकेका छन् ।

सोमबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । एमाले स्राेतका अनुसार कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका-१ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

प्रतिक्रिया