फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, इतिहासमै उच्च

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, इतिहासमै उच्च

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको निगमका सह-प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ।

निगमका अनुसार प्रति लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेल/मट्टितेलको प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। यसैगरी एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिण्डर १,६०० कायम गरिएको छ।

हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँले वृद्धि गरी प्रति लिटर १५६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि गरी प्रति कि.लि. अमेरिकी डलर १.५४५ कायम गरिएको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट दशौं अर्ब घाटा बेहोरेको निगमले रसिया र युक्रेन बीच जारी युद्ध समेतका कारणबाट पेट्रोलियम पदार्थहरूको अन्तराष्ट्रिय बजार मूल्य उच्च नै रहि रहेको र इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको जनाएको छ। समायोजनले निगमको १ महिनाको अनुमानित घाटा करिब ९ अर्ब  २७ करोड रुपैयाँ घाटा हुने उल्लेख छ।

नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको संचालक समितिको मंगलबार बसेको बैठकबाट पेट्रोलियम पदार्थकोआपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय भएको छ ।

प्रतिक्रिया