माओवादीकाे चुनावी पोस्टरमा ‘कुलमान घिसिङ’को तस्बिर

माओवादीकाे चुनावी पोस्टरमा ‘कुलमान घिसिङ’को तस्बिर

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको छ ।

‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले  भने ।

यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ, लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।

प्रतिक्रिया