मुलुक निर्वाचनमय

मुलुक निर्वाचनमय

काठमाडाैं : स्थानीय तहको निर्वाचन आउँन अब २५ दिन बाँकी छ । निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित छन । यसले मुलुकको वातावरण निर्वाचनमय बनेको देखिन्छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि  आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।

राजनीतिक दलहरू उम्मेदवार सिफारिशको अन्तिम तयारीमा जुटेका छन् । केही दलले केही ठाउँमा उम्मेदवारबारे निर्णय गरिसकेका छन् भने केही दलले उम्मेदवार तय गर्न आन्तरिक छलफलमा व्यस्त छन् । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका ८ स्थानमा निर्वाचन  सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

आयोगले यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा गत चैत ३० गते र  जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकांश कार्यक्रम पूरा गरिसकेका छन् ।

वैशाख ३० गते शुक्रबार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई गत चैत २९ गतेदेखि लागू हुनेगरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न आयोगले आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको उनको भनाई छ ।

निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीको काममा जुट्ने कार्य शुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा वैशाख ८ गते विधिवतरुपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।

स्थानीय तह निर्वाचनका लागि  निर्वाचन अधिकृतको कार्यालयमा कम्तिमा नौ जनाका दरले मुलुकभर करिब २ लाखको संख्यामा कर्मचारी खटिएका छन् । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्वन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहने आयोगको बुझाई छ ।

मतदाता शिक्षा

परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित यस पटक आयोगले मतदाता शिक्षाका लागि विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोगमा जोड दिएको छ । त्यसका लागि आयोगले वेभसाइटलगायतका अन्य सामाजिक सञ्जालको प्रयोग र इ–बुलेटिन प्रकाशन थालेको छ ।

विभिन्न भाषाभाषीमा मतदाता शिक्षासम्बन्धी सूचनामूलक कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालयले स्थानीय एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट पनि निर्वाचन शिक्षाको आवश्यक प्रचार प्रसार गरिरहेको छ ।

आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन तथा बदर मत प्रतिशत घटाउन मतदानस्थलमा यस पटक दुई दिनअघि मतदाता शिक्षा सूचना केन्द्र स्थापना गरी स्वयम्सेविकामार्फत मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको जनाएको छ ।

सअघि २०७५ को स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि ८० करोड ६० लाख रुपियाँ खर्च व्यवस्थापन गरिएको भएपनि यस वर्ष मतदाता शिक्षाका लागि बजेट सिलिङ घटेको आयोगको भनाई छ । यस वर्ष २४ करोड १७ लाख रुपियाँ मात्र मतदाता शिक्षाका लागि बजेट व्यवस्था गरिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

विगतमा निर्वाचन शिक्षाका लागि गरिएका खर्चको तुलनामा कार्यक्रम प्रभावकारी नभएको ठहरसहित यस पटक आयोगले  पर्चा, पम्प्लेट छपाई गरी निर्वाचन शिक्षा नगर्ने नीति लिएको हो । पर्चा, पम्प्लेटका कारण  वातावरण दूषित हुनुका साथै शहरको शोभा समेत कुरुप बनेको आयोगको बुझाई छ । आचारसंहिताको परिधिभित्र रही मापदण्डविपरित झण्डा र पर्चा पम्प्लेट प्रयोग नगर्न नगराउन आयोगले दललाई भनेको छ ।

सामाजिक सञ्जाललगायत न्यू मिडिया प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन आयोगले राजनीतिक दल र उम्मेदवारलगायत सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दैआएको छ । आयोग स्वयम् पनि  निर्वाचनको प्रचार प्रसार पत्रपत्रिका, सामाजिक सञ्जाल र रेडियो, टेलिभिजनका माध्यमद्वारा होस् भनेको छ ।

मनोनयनदर्ता प्रक्रिया

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । विहान १० बजेदेखि ५ बजेसम्म दर्ता समय तय गरेको आयोगका प्रवक्ता पौडेलले बताए । सोहीअनुसार दर्ता उम्मेदवारको सूची प्रकाशन वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म हुने आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने १३ गते विहान १० देखि साँझ ५ बजेसम्म, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने वैशाख १४ र १५ गते तय भएको आयोगले जनाएको छ । सोहीअनुसार मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन वैशाख १५ गते साँझ ५ देखि ६ बजेसम्म समय निर्धारण भएको आयोगले जनाएको छ ।

सोहीअनुसार वैशाख १६ गते विहान १० देखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, वैशाख १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयतालिका आयोगले जनाएको छ । आयोगका प्रवक्ता पौडेलकाअनुसार वैशाख १७ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।

प्रतिक्रिया