विप्लवका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली निलम्बित

विप्लवका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली निलम्बित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी सचिवालय सदस्यहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै चन्दले दुवैलाई पार्टी गतिविधिविरुद्ध लागेको भन्दै जिम्मेवारी मुक्त गरेका हुन् ।

चन्दले दुवैलाई जिम्मेवारी मुक्त गर्नुको कारण अराजक अन्तर्वार्ता दिएको, गुटबन्दी गरेको, पार्टीका मूल्यमान्यता भत्काएको आरोप लगाएका छन् । आफूले देखाएको संयमता र उदारतालाई कमजोरी ठान्ने काम वली र बास्तोलाबाट भएको चन्दको भनाइ छ ।

बास्तोलाले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई फिर्ता हुन विज्ञप्ति जारी गरेका थिए । पार्टी सचिवालयको तर्फबाट त्यसरी विज्ञप्ति जारी गरेकोमा चन्द झन् चिढिएका थिए । उनले विज्ञप्तिमा त्यसबारे लेखेका छन्, ‘तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पकडेर आज सचिवालय सदस्य कञ्चन (बास्तोला)ले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो ।’

चन्दले पार्टीभित्र वली र बास्तोलासँगको विवादको ‘चुरोकुरा’ संगठनात्मक र आर्थिक मामिलामा कुरा नमिलेका र संघर्ष भएका विषय भएको उल्लेख गरेका छन् । वली पक्राउ पर्नुको कारण पार्टीको सुझाव विपरीत नजिक राखेका मान्छे भएको भन्ने पनि चन्दको विज्ञप्तिमा छ ।

नेता बास्तोलाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव असफल गराएको बदलामा चन्दले जिम्मेवारीमुक्त गराएको बताए । आफूहरूलाई महासचिव चन्दले जिम्मेवारी मुक्त गरेको विज्ञप्तिमा पढेको र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गरिरहेको बास्तोलाले बताए । ‘हामीलाई निष्कासन गरिएको भन्दै महासचिवले विज्ञप्ति निकाल्नुभएको रहेछ, त्यो पढियो,’ बास्तोलाले भने, ‘केन्द्रीय समितिमा उहाँको प्रस्ताव फेल भएको थियो । त्यसपछि पनि पार्टीमा नीति विपरीत गइराख्नुभएको थियो । त्यसलाई रोक्ने प्रयास गरेको थिए । त्यसैको बदला लिनुभएको होला ।’

प्रतिक्रिया