‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने सोचौं’ : देउवा

‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने सोचौं’ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भएको बुझेर अगाडि बढ्न अपील गरेका छन्। कांग्रेसभित्र टिकट वितरणमा भएको असन्तुष्टि बाहिर आउन थालेपछि बिहीबार विज्ञप्ति जारी गर्दै देउवाले त्याग, एकता र समर्पणका लागि पार्टीलाई सफल बनाउन अपिल गरेका हुन्।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु।’ विज्ञप्तिमा भनिएको छ,  ‘तर पार्टीको विजयका लागि साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’

बुधबार कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको बताएका थिए। ‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन।’ देउवालाई लक्षित गर्दै कोइरालाले भने, ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन। पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ।’

प्रधानमन्त्री समेत रहेका देउवाले देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई निर्वाचित गर्नु  अहिलेको आवश्यकता भएको बताएका छन्।

उनले गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुन आग्रह गरेका हुन्। उनले देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध वागी उम्मेदवारी दर्ता गराएकालाई फिर्ता गराउन अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया