नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

काठमाडौं : सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको    हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी  दिए । वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विसं.२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका थिए ।  २०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २०६९ मा प्रहरी उपरीक्षक (एसपी) हुँदा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

तत्कालीन महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध (हाई प्रोफाइल) घटनाको सफल अपरेशन गरी हत्या योजना समेत विफल पारेका सिंहले उपत्यकामा हुने अपराधलाई न्यूनीकरण गर्न उनि धेरै हदसम्म सफल भएका थिए ।प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नेतृत्व सम्हालेसँगै दुई दशकदेखि अलपत्र परेका ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिना प्रकरणलगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधका मुद्दाको सफल अनुसन्धान गरेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्यसम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिएनन् ।

त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । गतहप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त भएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।

प्रतिक्रिया