गठबन्धनतर्फ १९०, एमालेका १२३ जना उम्मेदवार निर्विरोध

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख २०, २०७९     ::: 162 पटक पढिएको   |  

१७० दलित सदस्यमा उम्मेदवारी नै परेन्

काठमाडौ :  स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए। स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याए ।

निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका   हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए ।

निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताए ।



Leave a comment

Your email address will not be published.


*