स्थानीय तह निर्वाचनको बढ्दो रौनकतामा कालापानी मुनीका गाउँ सुनसान

          |   प्रकाशित मितिः बिहिबार, बैशाख २२, २०७९     ::: 97 पटक पढिएको   |  

दार्चुला : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शहर देखि गाउँघरका कुनाकाप्चामा चहलपहल बढ्दो छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् ।

वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन । यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन् ।

व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार सबै मतदाताको घरदैलोमा पुगिरहेका छन् । तर वडा नम्बर १ छाङरु र तिंकरसम्म पुग्नका लागि नेपालबाट बाटो नहुँदा ती गाउँलाई चुनावले छोएको छैन ।

वडा नम्बर २ को दुम्लिङसम्म घरदैलो अभियान गरिएको भए पनि बाटो नहुँदा माथिल्लो क्षेत्रमा जान नसकिएको नेकपा एमालेका नेता कल्यान सिंह खत्रीले बताए ।

हाल छाङरु र तिंकर क्षेत्रमा सुरक्षाकर्मीमात्रै छन् । त्यस क्षेत्रका स्थानीय सदरमुकाममै रहेकाले यतै प्रचारप्रसार गरिरहेको नेकपा एमालेबाट व्यास गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराले बताए । २५/२६ गतेतिर सबै स्थानीय गाउँजाने तयारीमा छन् । त्यसपछि उतै गएर प्रचार प्रसार हुन्छ । अहिले गाउँलेहरूको यात्रा अनुमति पत्र बनाउनमा सहयोग गर्ने गरिरहेको छु, बोहराले भने ।

त्यस क्षेत्रमा निर्वाचनका लागि खटिने कर्मचारी तथा निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्न निर्वाचन आयोगमा अनुरोध गरेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

सुरक्षाकर्मी भने छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरका जनशक्तिहरू परिचालन गर्ने तयारी छ ।

 



Leave a comment

Your email address will not be published.


*