पूर्वमन्त्री आलमलाई थुनामा राख्ने आदेश सदर

पूर्वमन्त्री आलमलाई थुनामा राख्ने आदेश सदर

काठमाडौँ : सर्वोच्च अदालतले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।

जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।

उनी हाल सांसद पदबाट निलम्बनमा परेका छन् । प्रमाण नष्ट गर्नका लागि त्यस्तो गरिएको उनीमाथि आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया