भोलि रातिदेखि ७२ घण्टा सीमा बन्द

भोलि रातिदेखि ७२ घण्टा सीमा बन्द

काठमाडौँ : सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मंगलबार रातिबाट ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि  सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो ।

मंगलबार मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा छ । ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । चीनतर्फका नाका पूर्वअनुमति बेगर आउजाउ गर्न नमिल्ने भएकाले निर्वाचन लक्षित नाका सिल गर्न कठिन छैन । भारतसँग जोडिएका सबै नाका खुला भएका कारण बन्द ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका बासिन्दा दुवै देश आउजाउ गरिरहन्छन् ।

भारतसँग इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, धनुषाको जटही, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको मोहना र गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायत दर्जनभन्दा बढी ठूला नाका व्यवस्थापनमा कठिन छैन । तर अरू छोटी भन्सार तथा चेक प्वाइन्ट र सीमा गौंडाबाट लुकीछिपी हुने आउजाउलाई रोक्न चुनौतीपूर्ण छ । दक्षिणतर्फका सीमा सुरक्षा र सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका २ सय २० बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी स्थानमा सीमा सुरक्षा चौकी छन् । ‘जस्तोसुकै स्थितिमा पनि निर्वाचन अवधिभर अत्यावश्यक र अनुमतिबाहेक सीमाबाट आवतजावत गर्न नदिन स्पष्ट निर्देशन दिएका छौं,’ गृह प्रवक्ता पोखरेलले भने ।

मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन पनि स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको उनले बताए । ‘मतदानका दिनका लागि सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा कडाइ गर्न पनि प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छौं,’ उनले भने । आयोगले बिहीबार नै ‘स्थानीय तह सदस्य निर्वाचन–२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९’ जारी गरिसकेको छ, जसमा आयोग र जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।

प्रतिक्रिया