कार्यकक्षमा ‘तमसुक’

कार्यकक्षमा ‘तमसुक’

दैलेख : संविधान जारीपछि पहिलोपटक २०७४ मा भएको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न सकेनन्। स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नै हुँदैन। तापनि भैरवी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको ५ वर्षे कार्यकाल बहुमत र अल्पमतको विवादमै रुमलियो। फलस्वरूप जनप्रतिनिधिले जनताले चाहेजति प्रभावकारी काम गर्न सकेनन्। जनप्रतिनिधिबीचको विवादले मतदाता आजित भए।

दोस्रो कार्यकालका लागि चुनिने जनप्रतिनिधिलाई एउटा नियममा बाँध्न मतदाताले नयाँ रणनीति अपनाए। त्यो थियो, तमसुक अर्थात् जनकरारपत्र। वैशाख ३० गते भएको निर्वाचन लक्षित प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरूलाई स्थानीय सचेत युवा मतदाताहरूले मतदातासमक्ष तमसुकमा औठाछाप गर्न लगाए। उम्मेदवारहरूले मतदातासमक्ष सम्झौता मात्र गरेनन्। तमसुकमा औठाछापसमेत गरे। वैशाख २१ गते एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी सर्वराज महतारा, उपाध्यक्ष पदमकुमारी बिष्ट, माओवादी केन्द्रबाट उपाध्यक्षका प्रत्यासी ऐनबहादुर कठायत र एकीकृत समाजवादीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्य र उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाले मतदाता तमसुक गरे। सोही दिन तमसुक गर्न छुटेका कांग्रेसकातर्फबाट अध्यक्षका उम्मेदवार रीताकुमारी शाही र उपाध्यक्षका उम्मेदवारदेवी भण्डारी वैशाख २३ गते मतदातासमक्ष तमसुकमा औठाछाप लगाए।

स्थानीय निर्वाचनबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार निर्वाचित भए। आगामी ५ वर्षका लागि चुनिएका उनै अध्यक्ष शाही र उपाध्यक्ष भण्डारीको कार्यकक्षमा तमसुक झुण्ड्याइएको छ। निर्वाचनका बेला अध्यक्ष र उपाध्यक्षले मतदातासमक्ष गरेको तमसुक निर्वाचितपछि उनीहरूकै कार्यकक्षमा टाँगिएको हो। भ्रष्टाचार नगर्ने, जनता र स्थानीय तहको विकासमा प्रतिबद्ध रहेको भन्दै आंैठाछाप गरेको तमसुक अर्थात् जनकरारपत्र अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा टांगिएको हो।  आइतबार गाउँपालिकाका सचेत युवा मतदाताहरू गाउँपालिकामा पुगेर अध्यक्ष शाही र उपाध्यक्ष भण्डारीको उपस्थितिमा तमसुक कार्यकक्षमै टाँगिएको हो।

तमसुक दिनहुँजसो हेर्न सकुन्, तमसुक हेरेर झस्किउन् र तमसुकमा उल्लेख गरेका बुँदाअनुसार गाउँपालिकाको कामकारबाही अघि बढाउन भनेर निर्वाचित जनप्रतिनिधिको कार्यकक्षमा राखिएको स्थानीय युवा मतदाता प्रशान्तसागर शर्माले बताए। ‘जनकरारपत्र अर्थात् तमसुक गरेका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनेछन्। भ्रष्टाचारबाट टाढै रहनेछन् भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने। त्यस्तै, तमसुक जनप्रतिनिधिलाई विशुद्ध जनताप्रति उत्तरदायी बनाउन, भ्रष्टाचार अन्त्य गर्न र पारदर्शीता कायम गराउन गरिएको युवा गणेशमान न्यौपानेले बताए।

अध्यक्ष शाहीले आफूले सचेत मतदाता सामु गरेको जनकरारपत्रमा टेकेर काम गर्ने बताइन्। ‘हामीले चुनावका दौरान आमगाउँपालिकाका सचेत मतदातासमक्ष तमसुकमा औठाछाप गरेका थियौं। अहिले मतदाताले हामीलाई भोट लिएर ५ वर्षका लागि चुन्नुभएको छ,’ अध्यक्ष शाहीले भनिन् ‘अब तमसुकका बुँदामा टेकेर काम गर्छौ।’  उनले थपिनन् ‘तमसुकमा उल्लेख भएका बुँदाअनुसार काम गर्न सकिनँ भने अध्यक्षबाट राजीनामा दिन्छु।’ त्यसैगरी नवनिर्वाचित उपाध्यक्ष भण्डारीले अध्यक्षले गरेको तमसुकबमोजिमका कामलाई सघाउँदै आरूनो जिम्मेवारी भएका कामलाई पारदर्शी भएर काम गर्ने बताइन्। ‘मेरो विशेष जिम्मेवारी भनेको योजना अनुगमन र न्यायीक समितिको कामलाई प्रभावकारी गराउनु हो,’ उनले भनिन् ‘जनताका दुःख र समस्या मैले नजिकबाट बुझेको छ। सोहीअनुसार तमसुकमा उल्लेख भएका बुँदामा टेकेर आफ्नो कार्यकाल पूरा गर्छु।’ अघिल्लो कार्यकाल भैरवी गाउँपालिका–३ को वडाध्यक्षको भूमिकामा रहेकी भण्डारीले तमसुकबमोजिम काम गर्न नसके पदबाट राजीनामा दिने बताइन्।

गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष शाहीले गरेको तमसुकमा अध्यक्ष पदमा विजय भएको खण्डमा कार्यकालभरी भ्रष्टाचार नगर्ने, जनघात गरी एक रुपैयाँ पनि नखाने, यदि खाएमा ‘बा–आमा’ को रगत खाए सरह हुने उल्लेख छ। गाउँपालिकामा हुने हरेक नियुक्ति स्पष्ट पारदर्शी गर्ने, स्वस्थ प्रतिस्पर्धाको आधारमा योग्य, अब्बल व्यक्तिलाई नियुक्ति गर्ने, गाउँकार्यपालिकाको बैठक खुला ठाउँमा जनताको माझमा मिडियामा लाइभ गरी देश÷विदेशका भैरवीवासीहरूले अवलोकन, मूल्यांकन तथा सुझाव दिन सक्ने गरी सञ्चालन गर्ने उनको जनकरारपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया