मैले देखेको यथार्थ र दिवस

        दुर्गा गिरी   |   प्रकाशित मितिः शनिबार, जेष्ठ १४, २०७९     ::: 140 पटक पढिएको   |  

कुरा २०७८ पौषको हो, म कामको शिलशिलामा कर्णाली प्रदेश अन्र्तगत कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा न. ४ मा रहेको नेटामा पुगे । त्यहाँ एका विहानै हिउँ परिरहेको थियो, जसले अत्यधिक चिसो भइरहेको थियो । बाहिर केहि मानिसहरु छाता ओडेर २ वटा बाजा बजाउँदै साँघुरो बाटोमा लाइनबद्ध भएर हिडीरहेका थिए ।

मैले हामी बसीरहेको घरको मानिसलाई सोधे, यस्तो चिसो मौषममा पनि किन बाजा बजाउँदै मानिसहरु हिडीरहेका हुन् ?

यतिकैमा एक जना दिदिले भन्नुभयो, उहाँहरु स्वास्थ्यचौकीमा जाँदैहुनुहुन्छ ।

मैले सोधे, किन ?

दिदीले भन्नुभयो, स्वास्थ्य चौकीमा कसैको छोरा जन्मीएको छ, त्यसैले उनिहरु छोरालाई साथ लिन बाजा बजाउँदै आएका हुन् ।
मलाई अच्चम लाग्यो र फेरि सोधे सबै जनाको बच्चा जन्मीएपछि यसै गरि बाजा बजाएरै साथ लिन आउछन् र ? उहाँले जवाफ दिनुभयो, अहँ ! छोरा जन्मिएपछि मात्र आउछन् । छोरी जन्मिएपछी आउँदैनन् ।

दुर्गा गिरी

२०७८ पौष ४ गतेको दिन थियो । त्यस दिन स्वास्थ्य चौकीमा २ जना महिला सुत्केरी हुनुभएको रहेछ । एक जनाले छोरा जन्माउनु भयो भने एक जनाले छोरी जन्माउनु भएको थियो । छोरी जन्माउने परिवार बच्चा सहित कति बेला घरमा फर्कनुभयो थाहा नै भएन तर छोरा जन्मिएको परिवारका मानिसहरु स्वास्थ्य चौकीमा बाजा सहित आएर खुसीयाली मनाउदै हुनुहन्थ्यो । बच्चाको बाबु र बाजेलाई सवैले अबिर लगाईदिँदै आर्शिबाद दिदै हुनुहुन्थ्यो । यहाँहरुले अन्य मानिसलाई पनि अविर लगाईदिदै चक्लेट बाडिरहनु भएको थियो । यतिकैमा बच्चा सहित मानिसहरु त्यहि बाटो भएर फर्कदै थिए । तर बच्चा जन्माउने आमा हुनुहुन्थेन मैले फेरी सोधे बच्चाको आमा त आउनु भएन त ? २,३ जना महिलाहरु परबाट ओर्लदै हुनुहन्थ्यो, दिदीले देखाउदै भन्नुभयो उ त्यहाँबाट ओर्लने मानिसहरु हुन । मैले पुन प्रश्न गरे किन यहाँबाट नआएर अर्काे बाटोबाट जानुभएको हो ? दिदीले भन्नुभयो त्यहा देवताको थान छ त्यहि भएर थान नजिकबाट जान नहुने भएकोले गर्दा थान छलेर तलबाट गएका हुन ।

त्यस दिन मर्यादित महिनावारी र सेनेटरी प्याड निर्माण सम्बन्धी तालिममा महिला शिक्षक, स्वास्थ्यकर्मी, महिला समुह सदस्य र बालिका सहभागी हुने गरि राखिएको थियो । छलफलको क्रममा उहाँहरुले भन्नुभयो कि महिनावारी फोहोरी रगत हो, घरमा देवता भएकोले गर्दा सुप्दैन । त्यसैले घरमा बस्न डर लाग्छ घरमा बसीहाले पनि नराम्रो सपना आउँछ, डर लाग्छ, त्यसैले घरमा बस्न सकिरहेका छैनौं् । अहिलेसम्म पनि गोठमा नै बसीरहेका छौं । स्वास्थ्यकर्मी र शिक्षाको ज्योती फैलाउने मार्गदर्शकले पनि गोठमा नै बसीरहेको पाइयो ।
यतीकैमा केहि स्वास्थ्यकर्मीले गुनासो राख्नुभयो, र भन्नु भयो स्वास्थ्य चौकीमा सुत्केरी गराए पश्चात र सरसफाइ गरे पश्चात समुदायका मानिसहरुले हाम्रा नजिक नआउ तिमीहरुले सुत्केरीसँग लसपस गरेकाले गर्दा छुइ हुन्छ, अलग बस भनेर रिसाउने घृणा गर्ने गरेका छन् । यस्तै छलफलसँगसँगै महिनावारी प्रक्रिया, मर्यादित महिनावारी, महिनावारी तथा सुत्केरी भएको अवस्थामा वार्ने वा वार्न लगाउने कारणहरु त्यसबाट परेको असर र त्यस्तो गलत अभ्यासलाई न्यूनिकरण गर्ने उपाय, महिनावारी भएको अवस्थामा सरसफाई गर्ने प्रक्रियाको बारेमा छलफल एंव अभिमुखिकरणका साथै पून प्रयोग गर्न सकिने सेनेटरी प्याड निर्माण गर्न सहजिकरण गरिएको थियो ।

भोलीपल्ट पौष ५ गतेका दिन एउटा कार्यक्रम थियो । जुन कार्यक्रम स्वास्थ्य चौकीको प्रांगणमा संचालन गरिने भएकोले त्यसको तयारी र व्यवस्थापन गरिरहेका थियौं । त्यसै बेलामा अघिल्लो दिनको जस्तै गरेर बाजा बजाउँदै केहि मानिसहरु स्वास्थ्य चौकीमा आउनुभयो । स्वास्थ्य चौकीको बाहिर त्यसै गरेर अबिर टिका लगाइरहेको दृष्य देखिन्थ्यो । खुसीयालीसँगै चक्लेट बाडिरहेका थिए । यतीकैमा एक जना किशोरीले शिशु बोकेर आउनुभयो र अघि अघि हिड्नुभयो त्यसको सँगसँगै पछिपछि बाजा सहित सबै जना घरतर्फ जानुभयो । तर सुत्केरी महिला आउनु भएन ।

मैले त्यहाँ रहेका मानिसहरुलाई सोधे शिशुको आमा त आउनु भएन त ? उहाँहरुले स्वास्थ्य चौकीको अगाडी रहेको कालिका मन्दिर हो यसमा आउन मिल्दैन भन्दै देखाउनुभयो । तर स्वास्थ्य चौकीको वरिपरी काडेतारको घेरबार रहेको थियो । उहाँहरु घरमा पुग्दा घरमा मांगल गाइरहेका थिए । महिला तथा पुरुषहरु जम्मा भइरहेका थिए । एक जना महिलाले गोठको मल बाहिर फालिरहनुभएको थियो । बच्चा बोकेको किशोरी र आमा घरमा नगएर गोठको दैलोमा पुगेर उभिनुभएको थियो ।

मैले पुन सोधे उनिहरु घरमा नगएर गोठमा किन जानुभयो त । यतीकैमा त्यहाँ भएका मानिसहरुले भन्नु भयो अर्को महिलाले गोबर मल बाहिर फाल्दै हुनुहुन्छ फाली सक्नु भएको छैन क्या त्यहि भएर होला बाहिर उभिरहनुभएको । त्यतीकैमा एक जना महिलाले परालको मुठा लिएर गोठ भित्र जानु भयो । मैले पुन प्रश्न सोधे किन गोठमा पराल लगेको हो त ? सुत्केरीलाई ओछ्याउनको लागि हो । उहाँले तुरुन्त जवाफ दिनु भयो । यतिकैमा सुत्केरी बच्चा लिएर गोठमा पस्नु भयो । त्यस घरको वातावरण रमाइलो थियो । महिलाहरुले २ वटा देउडा खेल लगाइरहेका थिए । पुरुषहरु जम्मा भएर गफ गर्दै थिए कोहि खसी काट्दै, कोही नास्ता बनाउदै थिए ।

त्यत्रो घेरबार नाघेर जादा महिलाको पाठेघरमा समस्या हुन्छ । त्यस्तो फोहोरी गोठमा संक्रमण हुने सम्भावना हुन्छ, छोरा जन्मिदा सम्मान र छोरी जन्मिदा अपमान गर्ने यस्ता विषयमा त हजुरहरुले यस सम्झाउनु पर्छ । भनेर स्वास्थ्य चौकी इन्चार्जसँग छलफल भयो । उहाँले भन्नुभयो, कति सम्झाउछौं तर उनिहरुले कहिल्यै पनि मान्दैनन् । यतीकैमा उहाँ घाम लागिरहेको गोठको दैलो नजिक बच्चालाई सुताएर बसीरहनुभएको थियो ।

पानी परेको र मलको चिसो ठाउँमा गोठ भित्रबाट भर्खर मल बाहिर फालेकोले गर्दा भुईमा मल नै मल र चिसो र फोहोर पनि त्यस्तै थियो । मैले उहाँलाई नै सोधे, घरमा सफा ठाउँमा बस्नु पर्ने किन यहाँ यस्तो चिसो एंव फोहोर बसेको ? उहाले भन्नुभयो घर साँघुरो भएको र देवताको थान घरभित्र भएकोले त्यहाँ बस्नु हुँदैन भनेर यहाँ बसेको । यहाँ बस्नेगरे पनि पहिले नै सरसफाई गरेर ओभानो राखेर यहि बस्ने बनाए पनि हुने किन बनाउनु भएन त सधैलाई सजिलो हुने थियो नि ? यहँ गाइगोरु बाध्नु परेकोले नबसेका हुम । यस्तो चिसो र फोहोरमा बस्दा त बिरामी परिन्छ होला बच्चा बिरामी पर्न सक्छ ? उहाँले भन्नु भयो घरमा सुप्दैन यहाँको चलन नै यस्तै छ बिरामी परे पनि के गर्ने भर्खर सुत्केरी भएकोले गर्दा उहाँसँग धेरै कुरा गर्न गरिएन । यत्तीकैमा एकजना महिलासँग सोधे सुत्केरी हँुदा त यसरी आ–आफ्नो गोठमा बस्नुहुन्छ तर महिनावारी भएको बेलामा कहाँ बस्नुहुन्छ त ? उहाँले भन्नु भयो यो त सुत्केरो भएकोले आफनो गोठमा बस्न पाइन्छ तर महिनावारी हँुदा त अलग्गै अरुको गोठमा गएर बस्नुपर्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ बमोजिम महिलाको रजश्वाला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसीमका भेदभाव छुवाछुत वा अमानविय व्यवहार गर्नु वा गराउनु हुँदैन् । यदि गरे वा गराएमा ऐ दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद वा ३ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेकोछ । ऐ दफाको उपदफा ५ बमोजिम राष्ट्रसेवक कर्मचारीहरुले त्यस्तो कशुर गरेमा थप ३ महिना सम्म कैद सजाय हुने व्यवस्था छ ।

नेपाल सरकारले मुलुकी अपराध संहिता निर्माण गरेको छ । नेपालमा छाउगोठ भत्काउने अभियान पनि चल्यो । तर त्यो ठाउँसम्म पुग्न सकेन जहाँ पुग्नुपर्ने थियो । जबसम्म सोच बदल्ल सकिदैन तबसम्म भौतिक संरचना भत्काउँदैमा मात्र परिवर्तन हँुदैन । शिक्षाको कमी र कानुनको बारेमा जानकारी भएन भनौ भने माध्यमिक तहमा शिक्षण गर्ने महिला शिक्षक गोठमा बसीरहेका छन्, स्वास्थ्यकर्मी गोठमा बसीरहेका छन् । राजनीतिकर्मी गोठमा बसीरहेका छन् । अभियानकर्मी गोठमा बसीरहेका छन् । ग्रामीण तहमा भने शहरी क्षेत्रमा कोठा भित्र नै बसे पनि भान्सामा नजाने, पानी नछुने विभिन्न सामाजिक सांस्कृतिक कार्यक्रममा सहभागी नहुने जस्ता व्यवहारहरु गरिरहेका छन् ।

माथि उल्लेखित एउटा मात्र पात्र हो । जुन वास्तविक रुपमा देखेको भोगेको घटना हो । कानुन कानुनमा मात्र सीमित नराखेर व्यवहारमै पालना गर्नको लागि यसको अभियान नै संचालन गर्नुपर्छ होला । यती धेरै अभियान संचालन गर्दा पनि सुधार गर्न सकिएन भने कानुनी दायरामा लिन आवश्यक छ होला । कर्मचारी तथा राजनीतिक, अभियानकर्मीको लागि शुन्य सहनशिलता नीति ल्याई कार्यान्वयन गरेमा अन्य समुदायमा त यसको प्रभाव स्वत पर्ने भएकोले महिनावारी र सुत्केरी, स्वच्छता, मर्यादित बनाउन सकिन्छ । जुन सामाजिक रुपमा गरिएको विभेदलाई अन्त्य गरि समानता कायम गर्ने र महिनावारी एंव सुत्केरी भएको अवस्थामा स्वास्थ्य सरसफाई, पोषण युक्त खाना, आरामको व्यवस्थापन, सम्मानजनक व्यवहार गर्न आवश्यक देखिन्छ । मर्यादित महिनावारी बनाउनको लागि नेपाल सरकार, स्थानिय सरकार, संघसंस्था, विद्यालय, स्वास्थ्य, समुदाय सवैले संयुक्त अभियान बनाएर अघि बढेमा कार्यान्वयन गर्न सकिनेछ ।

लेखक सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहायक कार्यक्रम निर्देशक हुन् ।

 



Leave a comment

Your email address will not be published.


*