पारिश्रमिक नदिएको भन्दै रुकुमका पत्रकार आन्दोलनमा

          |   प्रकाशित मितिः मङ्लबार, असार ७, २०७९     ::: 101 पटक पढिएको   |  

रुकुम पश्चिम : काम गरेको पारिश्रमिक नदिएको भन्दै रुकुम पश्चिममा पत्रकारहरूले आन्दोलन सुरु गरेका छन् । वर्ष दिनसम्म रेडियोमा काम गरेका पत्रकारहरूले पारिश्रमिक नपाएपछि आन्दोलन सुरु गरेका हुन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् ।

वर्ष दिनदेखि यो रेडियोमा काम गर्दै आएका ६ जना कर्मचारी तथा पत्रकारहरूले पारिश्रमिक नपाएको बताएका छन् । उनीहरूले दश लाख रुपैयाँ रकम पाउन बाँकी रहेको जनाएका छन् ।

पारिश्रमिक माग गर्दै आएका उनीहरूले आज मङ्गलवारदेखि पहिलो चरणको आन्दोलन सुरु गरेको बताएका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत आव विरोध र्‍याली निकालिएको श्रमजीवी पत्रकार सङ्घ नेपालका संयोजक सत्य बटालाले जानकारी दिए । उनका अनुसार श्रमजीवी पत्रकार सङ्घ र रेडियो नयाँ नेपाल सङ्घर्ष समितिको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

नगरपालिकाको राडी बजारमा र्‍याली निकालेर कोण सभा गरिएको हो । कोण सभालाई नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतले सम्बोधन गर्दै तत्काल पारिश्रमिक उपलब्ध गराउन रेडियो सञ्चालक समितिलाई अनुरोध गरे ।

विरोध र्‍यालीमा चार बुँदे माग राखिएको छ । अविलम्ब पारिश्रमिक दिनुपर्ने, श्रमजीवी पत्रकारिता ऐनअनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने, परीक्षणकाल पूरा गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने र हकअधिकारको विषयमा बोलेकै भरमा निष्कासन गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजीनामा दिन बाध्य पार्ने जस्ता काम बन्द गर्न माग गरिएको छ ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन

माग सम्बोधन नगरिएमा असार ९ गते सामाजिक सञ्जालमार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा एक घण्टा धर्ना र नाराबाजीको कार्यक्रम गर्ने र त्यति गर्दा पनि माग पूरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने संयोजक बटालाले बताए।

पत्रकारहरूले पारिश्रमिक नपाएको विषयमा नगरपालिकाका मेयर रवि केसीसँग पनि छलफल गरिएको र उहाँले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको पत्रकार महासङ्घ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बताए ।



Leave a comment

Your email address will not be published.


*