खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही सिफारिस गर्न आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार पनि असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले सबैभन्दा बढी महानगरको प्रमुख र उपप्रमुखमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ,‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’
प्रतिक्रिया