महिनावारी र कर्णालीको दनक

महिनावारी र कर्णालीको दनक

२०२२ जुन १७ देखि १९ चितवनको सौराहामा रहेको आमा होटल एण्ड गार्डेनमा बसेर मर्यादित महिनावारीको तालिम लिए । यसको संचालन, व्यवस्थापन तथा सहजीकरण राधा पौडेल फाउण्डेशनको थियो । कार्यक्रमको आयोजना मर्यादित महिनावारी अभियान नेपालको सहयोगमा भएको थियो ।
म दैलेखबाट सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महासचिवको तर्फबाट सहभागि थिएँ । म संगै कार्यसमितिका कोषाध्यक्ष कमला चन्द पनि हुनुहुन्थ्यो । अरु कर्मचारी पनि थिए । हाम्रो तालिमको खर्च हाम्रै अफिसले ब्यहोरेको थियो । तालिम शुरु भयो । हामीले परिचय गर्यौ । परिचय पछी शुरु भयो खास कुरा महिनावारीका बारेमा । तालिमले मलाई पहिला महिनावारीले मलाई दिएको पिडा सुन्न सिकायो ।

जब हामीले महिनावारी थाहा पाएको वर्ष र त्यस बेला गरेका काम सोच्न थाल्यौ । लेखन कार्य अघि बढ्यो । महिनावारीले ल्याएका खुशीका क्षण र दुखि क्षणका बारेमा लेखेर प्रस्तुत गर्दा म त रोएँ । अरु पनि भावुक थिए । पहिला शुरुमा के यो महिनावारीको तालिम दिएको होला भनेर अल्छी लाग्यो । जब यसको बास्तविकता र यसले महिलालाई दिएको पीडा सुन्दा र राधा पौडेल फाउण्डेशनले दिएका अध्ययन सामग्री पढ्दा त् यो भयानक रहेछ भने कुराले मेरो दिमागमा हिर्कायो ।

महिनावारी हुँदा अहिले पनि यहाँ कर्णालीमा मानिसहरु भन्छन् ‘भैसी र गाईको दुध खानु हुन्न, फलफुलको विरुवा छुनुहुन्न, देवता रिसाउछन, धाराको पानी छुनुहुन, खेत रोपाइँ गर्दा एक्लै रोप्नु पर्छ, मन्दिर अगाडी बाट हिड्नुहुँदैन्, नदि तर्नु हुन् घरको दलान वा ओटालीमा टेक्नु हुन्, पुरुषको अनुहारमा सिधा हेर्नु हुन्न ।’ यस्ता कति हुन् कति । महिनावारी भएका महिला जब घर भन्दा बाहिर बस्छन । के उनीहरु सुरक्षित हुन्छन ? झरी पर्ने महिनामा घर भन्दा बाहिर बस्दा कस्तो होला ? हामी पुरुष एक पटक सोचौ त् ?

धारा छुन नमिल्ने घर भित्र जान नपाईने अवस्थामा घरमा कोहि नभएको बेलामा महिनावारी भएकी महिला बिमारी भएमा के गर्न ? अफिस जादा पनि विभेद घर बस्दा पनि विभेद कसरी बाच्ने महिलाहरुले ? समाजमा जकडिएको यो कुरीतिलाई हटाउन के गर्नुपर्ला ? जस्ता कुरामा न त् राज्य नै जानकार देखिन्छ । नीतिगत कुरा भन्दा पनि कार्यान्वयनको अबस्था दयनीय रहेको यस प्रदेशमा कुनैपनि समसामयिक विषयमा राज्यले सोचेको देखिदैन् ।

महिनावारिले अहिले पनि कर्णाली सरकारलाई नाकमा बजारिरहेको छ । सरकारमा रहेका मन्त्री हुन् वा सांसद सबको धारणा देखावटी रुपमा फेरीए पनि व्यावहारिक रुपमा फेरिएको देखिदैन । विश्व विद्यालयमा अध्यापन गर्न प्राध्यापक पनि आज मलाई ढिलो छ यार ‘श्रीमती पाखा लागेकी छिन खाना म आफै बनाउँछु’ भन्दै कुदेको देखिन्छ । यहा कुरीतिलाई जाने बुझेकै मानिसहरुबाट भएको प्रत्यक्ष वा अप्रत्यक्ष देख्न वा सुन्न सकिन्छ ।

कर्णालीमा बाहुन क्षेत्री र दलित समुदायको बस्ती धेरै भएको र जनजातीहरुको संख्या कम रहेको छ । माथि उल्लेखित तीन वटै समुहमा यो महिनावारी बार्ने प्रथा ब्यापक छ । जातिगत आधारमा हेर्दा यसमा बाहुनहरु महिनावारी बार्नमा कडा देखिन्छन । सात दिनसम्म घरको ओटालीमा जान नदिने र कुनै पनि पोषिलो खाने कुरा खान पनि नदिने गर्दछन । समाजमा अलि सामन्ती सोच र आफुलाई पठित समुदायको रुपमा लिने कर्णालीका बाहुनहरु ठुल्ठुल्ला ओहदामा पुगे पनि कुसंस्कारलाई काखी च्यापेर बसेका छन् । नीति नियम कार्यान्वय गर्ने तहमा पुगे पनि महिनावारी बार्नु गलत हो भन्दैनन । आफ्नै पण्डितले महिनावारीलाई कडा रुपमा बारेको देख्दा क्षत्री समुदाय पनि के कम उनैको सिको गर्दै हिडिरहेका देखिन्छन । उता दलित समुदायको अवस्था पनि उस्तै छ । महिनावारी हुँदा अगल्गै सुत्ने खाने गर्न र घर परिवार कसैलाई नछुने गर्दछन । यो अत्यन्त पासविक पिडा हो ।

यो संविधान विरोधी र मानवता विरोधी काम हो । किनभने नेपालको सविधान २०७२ ले जुन स्वतन्त्र बाँच्न पाउने हकको व्यवस्था गरेको छ त्यसको उलंघन भै रहेको छ । त्यसकारण यदि हामीले संविधानले दिएको अधिकारलाई कार्यान्वनको दिशामा गएनौ भने यसले समाजमा विभेद बाहेक केहि ल्याउदैन । पश्चिम नेपालमा सरकारी र गैर सरकारी स्तरबाट महिनावारीका बारेमा सेमिनार र गोष्ठी भएका छन तर यी कोठामा नै सिमित रहेका छन् । महिनावारीलाई छि गर्न पुरुषहरु नै धेरै छन् । जसका कारण यो समस्या समाधान हुन् सकेको छैन । हामीले सोच्नु र बुझ्नु पर्ने कुरा के छ भने हामी ठुला पूर्वाधारका कुरा गर्छौं । त्यसकारण हामीले मस्तिक्सबाट नै महिनावारीका बारेमा भ्रम नहटाएसम्म यसको अबस्था यस्तै रहने छ ।

राधा पौडेल फाउण्डेशनले मलाई दिएको यस ज्ञानले मलाई मात्र हैन केहि गर्नुपर्छ भने विचारलाई प्रेरित गरिदियो । जसले गर्दा मलाई आज भोलि बसमा चड्दा होस् वा कुनै नजिकै विद्यालय होस् त्यहाँ महिनावारीको कुरा गरिहाल्छु । कुरा गर्दा महिला दिदीबहिनीहरु खुब ध्यान दिएर सुनेको पाईयो भने पुरुष दाजुभाईलाई सुनाउँदा सुन्नमा ध्यान दिने तर त्यस कार्यलाई रोक्न आनाकानी गर्न गरेको पाईन्छ । अहिलेको समय र अवस्थामा के महिनावारी बारेर घरमा बस्नेकी ? आफ्नो सृजना र विकासलाई अगाडी बढाउने कि यसै रुढिवादी कुरा मै रुमलिएर बस्ने होला सोच्ने बेला आयो की ? शिक्षाका माध्यमबाट यौन, शारीरिक प्रक्रिया र कुन उमेरदेखिका केटाकेटीलाई यी कुरा सिकाउने भनेर थाहा पाउन सकिन्छ । महिनावारीको व्यवहार बदल्न भने नीति नियम र कानुनले मात्र नपुग्ने देखिन्छ । यस्ता कुरा हरेक परिवारभित्रबाट विकास गर्दै ल्याउन आवश्यक छ ।

लेखक साेसेक नेपालका महासचिव एवं मर्यादित महिनावारी अभियान नेपालको सदस्य हुन् ।

 

प्रतिक्रिया