बालबालिकामा कडा खालको ज्वरोको सङ्क्रमण बढ्दै

बालबालिकामा कडा खालको ज्वरोको सङ्क्रमण बढ्दै

काठमाण्डौ :  दुई हप्तायता बालबालिकामा कडा खालको ज्वरोको सङ्क्रमण बढ्दै गएको छ ।

ज्वरोले सताएर अस्पताल जाने बालबालिकाको सङ्ख्या बढेको हो । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल कान्तिसहित अरु अस्पतालमा पनि ज्वरोबाट बिरामी भएका बालबालिकाको सङ्ख्या बढ्न थालेको छ ।

ओपीडीमा बिरामीको चाप बढेको छ । उपचारका लागि बालबालिका लिएर पुगेका अभिभावकलाई डाक्टरले नआत्तिन तर बिरामी बच्चाको खानपान र सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् ।

ज्वरोका बिरामी बढ्नुको मुख्य कारण मौसम

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँका अनुसार वर्षभरि नै बिरामी बच्चा उपचारका लागि आउने गरेका, तर पछिल्लो दुई हप्तामा यो सङ्ख्या तुलनात्मक रुपमा धेरै छ ।

उनले भने, ‘सिजन अनुसार बिरामीको सङ्ख्या धेरैरथोरै भइरहन्छ तर यो मौसममा बिरामीको सङ्ख्या धेरै हुने गरेको छ ।’ अहिले कान्तिको ओपीडीमा दैनिक झन्डै एक हजार बालबालिकाले सेवा लिने गरेका छन् । तर भर्नादर भने निक्कै कम छ ।

‘जाडो मौसम र गर्मी मौसमको तुलना गर्दा यो मौसममा बिरामी हुनेको सङ्ख्या धेरै हुन्छ, ‘डा। चापागाईँले भने, ‘बर्खामा झाडापखाला र छालाजन्य रोगले धेरै सताउने गरेकोमा यसपालि ज्वरोको सङ्क्रमण धेरै छ ।’ ज्वरोका बिरामी बढ्नुको मुख्य कारण ‘एडिनो भाइरस’ रहेको पाइएको छ ।

कान्ति बाल अस्पतालले गरेको १३ वटा नमुना परीक्षणमा १२ जनामा एडिनो भाइरसको सङ्क्रमण पुष्टि नै भएको छ । अहिलेको मौसममा ज्वरोका बिरामी अलि धेरै देखिएका छन् तर अभिभावक डराउनुपर्ने अवस्था नरहेको पनि डा. चापागाईँले बताए ।

के हो एडिनो भाइरस ?

कान्ति अस्पतालले गरेको नमुना जाँचमा धेरैमा एडिनो भाइरस र केहीमा मात्रै फ्लु भाइरस देखिएको डा। चापागाईँले जानकारी दिए । भाइरसको सङ्क्रमण फरक फरक हुन्छ । उनका अनुसार अहिले देखिएको एडिनो भाइरस नयाँ भने होइन ।

भाइरसका कारण हुने साधारण रुघाखोकीको ज्वरो भन्दा केही फरक लक्षण देखिन सक्छ । ज्वरोसँगै आँखा पाक्ने, पखाला लाग्ने, पेट तथा जिउ दुख्नेजस्ता लक्षण देखियो भने एडिनो भाइरस हुनसक्छ । एडिनो भाइरसका कारण १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आउन सक्छ ।

खोकी, उच्च ज्वरो, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण भएमा एडिनो भाइरस हुन सक्ने र यसको खास औषधि नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। चुमनलाल दासले बताए । यी लक्षण भएका बिरामीलाई सिटामोल मात्रै दिन सकिने र केही दिनमा नै निको उनको भनाइ छ ।

 बालबच्चाको स्वास्थ्य र खानपानमा ध्यान दिन सुझाव

जुनसुकै भाइरलका कारण ज्वरो आएको भए पनि बालबालिकाको स्वास्थ्यमा अभिभावक चनाखो हुनुपर्ने डाक्टरहरु बताउँछन् । कान्ति अस्पतालका बालरोग विशेषज्ञ डा. चापागाईँका अनुसार आफ्ना बालबच्चामा ज्वरोको सङ्क्रमण भएमा आत्तिनु हुँदैन । तर खानपान र सरसफाइमा ध्यान दिन उनको सल्लाह छ । ज्वरो बढी नै आएको अवस्थामा सिटामोल दिन सकिन्छ ।

एडिनो भाइरस मुख्यतया सङ्क्रमितसँगको सम्पर्क र श्वासप्रश्वासबाट फैलन सक्छ । बिरामी बच्चाले हात तथा कान कोट्याउने, मुखमा हात लैजाने र खानेकुरा अर्कोलाई दिने भएकाले घरमा तथा विद्यालयमा अलि धेरै निगरानी गर्नुपर्ने हुन्छ ।

एक अर्कामा हुने सम्पर्ककै कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई एडिनो भाइरसको सङ्क्रमण धेरै हुने जोखिम रहेको डा. चापागाईँले बताए । एडिनो भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा सङ्क्रमण हुन सक्छ । उनका अनुसार बालबालिका एडिनो भाइरसको सम्पर्कमा आएपछि दुई हप्तासम्म लक्षण देखिन सक्छन् ।

सङ्क्रमित बच्चालाई नुहाउन सकिने

एडिनो भाइरस वा अरु सङ्क्रमण भएर ज्वरो आएमा बालबालिकामा निमोनिया हुने उच्च जोखिम हुन्छ । उसको स्वास्थ्यमा ध्यान राखेमा जटिल अवस्था हुँदैन । कतिपय अभिभावकको बुझाइमा ज्वरो तथा रुघाखोकीबाट बिरामी बच्चालाई नुहाउन नहुने भन्ने छ । तर सफा सुग्घर राख्नका लागि हल्का मनतातो पानीले नुहाउन, तेल लगाउन, साबुनपानीले हातखुट्टा धुन सकिने डा. चापागाईँ बताउछन् ।

यो भाइरसको उपचार गर्न खास औषधि नभएकोले घरमै स्वास्थ्य सावधानी र रेखदेख गरे एक/ दुई हप्तामा आफैँ ठिक हुने पनि उहाँको भनाइ छ । तर ज्वरोसँगै बच्चाका क्रियाकलाप, आनीबानी सुस्त भयो, केही पनि खान मन गरेन अनि घ्यारघ्यार भयो भने बिरामीको अवस्था थप जटिल हुनसक्ने भएकाले तत्काल अस्पताल लैजान पनि उनको सुझाव छ ।

प्रतिक्रिया