अपहेलित नाम सच्चाउन व्यवस्था गरियोस् : सांसद विश्वकर्मा

अपहेलित नाम सच्चाउन व्यवस्था गरियोस् : सांसद विश्वकर्मा

काठमाडौँ : दलित समुदायका व्यक्तिका नागरिकताको नाम अपमानित रूपमा राखिएको भन्दै सांसद दुर्गाकुमारी विश्वकर्माले ती नाम सच्याउनका लागि सरकारसँग माग गरेकी छन् । सांसद विश्वकर्माले तत्काल गृह मन्त्रालयलाई ती नाम सच्याउने व्यवस्था गर्न माग गरिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद विश्वकर्माले त्यसरी नागरिकता वितरण गर्ने कर्मचारीमाथि पनि प्रश्न उठाएकी थिइन् । ’कुनै पनि व्यक्तिको नाम लेख्दा, विशेष गरी दलित समुयादको नाम हो; खोप कार्डमा हेर्दा, नागरिकता, मतदाता नामावली, राष्ट्रिय परिचयपत्रमा हेर्दा; उहाँहरूको नाम कसरी लेखियो ? म दंग परेको छु । यो गम्भीर विषय छ र यसमा सरकारले ध्यानाकर्षण गर्नुपर्छ,’ उनले भनिन् ।

सम्बन्धित जिल्लालाई नागरिकताको नाम सच्याउने निर्देशन तुरुन्त दिनुपर्ने माग गर्दै उनले भनिन् ‘यस्ता खालका नाम लेख्ने कर्मचारी कस्तो बेहोस अवस्थामा जानुभएको थियो ? यो विशेष गरी रुकुम र दैलेखमा देखिएको छ । तुरुन्त नेपाल सरकार र विशेष गरेर गृह मन्त्रालयले सम्बन्धित जिल्लामा ती व्यक्तिहरूको नाम सच्याउने व्यवस्था गरोस् ।’ नागरिकतालागयत सरकारी परिचयपत्रमा कसरी व्यवस्थापन गर्ने हो त्यो गर्नका लागि सांसद विश्वकर्माले सरकारलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया