बेसहाराको सहारा, मुठिदानले चलिरहेको ‘साझा घर’

        जितेन्द्र थापा   |   प्रकाशित मितिः आइतवार, भदौ १२, २०७९     ::: 171 पटक पढिएको   |  

तस्बीर : जितेन्द्र थापा

सुर्खेत :  दैलेख तल्लो डुङ्गेश्वरकी भगवती वादीले सौनमा बुवा गुमाइन् । बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरिन् । सहारा दिने आमा पनि अर्कैको पछाडि लागेपछि उनको सहारा कोही पनि भएन । दैलेखको डुङ्गेश्वर बजारमा दिनरात सडकमा मागेरै पेट भर्थिन् । तल्लो माथिल्लो घरमा मागेरै दिन गुजार्ने उनको अवस्थाले समाजलाई चिन्तित तुल्यायो ।

तर त्यसको विकल्प स्थानीय समाजमा थिएन । उनीहरूले चिनेकै मानिसबाट सुर्खेतमा सञ्चालित साझा घरले यस्ता काम गर्छ भनेपछि उनलाई उद्धार गरियो । साझा घरले उद्धार गरेपछि अहिले भगवतीले खान बस्न र राम्रो शिक्षा समेत पाएकी छन् । राम्रो लगाउन र आमाबुबाको माया साझा घरले दिएको छ । पहिले आमाबा कस्ता थिए राम्रोसँग देख्नै नपाए पनि अहिले साझा घर पुगेपछि आमाबुबाले भन्दा धेरै माया पाएको उनी बताउँछिन् ।

‘सानैमा आमाबुवाको माया त पाउन सकिन । बुवा त थाहा छैन, आमा पनि अर्को पोइल ९दोस्रो बिहे० जानुभयो’ उनले भनिन्, ‘अहिले साझा घर आएपछि खान, बस्न र पढ्न पाएकी छु ।’

त्यस्तै कालिकोटको मीनबहादुर नेपाली पनि ८ वर्षका भए । आमाबुबाको राम्रोसँग माया नपाउँदै आमाको स्वर्गवास भयो । रोजगारीका लागि बुबा भारतको कालो पहाड पुगे । तर उनी घर फर्केनन्, गाउँमा उनको बिचल्ली भयो ।

केही दिन आफन्तले राखे पनि पछि घरबाटै निकालिए । पछि कर्णाली राजमार्गको छेउमा मागेर गुजारा चलाउने गरेका उनी अलपत्रै अवस्थामा थिए । साझा घरले उनको उद्धार गरेपछि उनका दिनहरू सहजै बित्न थालेका छन् ।

यस्तै सुर्खेतका आशिस मुल १२ वर्षको भए । उनी शारीरिक रूपमा मानसिक अपाङ्ग छन् । उनका पनि आमा बुबाकै मृत्युपश्चात् आफन्तले साझा घरको जिम्मा लगाए । जहाँ उनको दैनिकी अहिले अन्तभन्दा राम्रो भइरहेको छ ।

साझा घरको सहारा

सडकमा रहेका बेसहाराहरूलाई सहारा दिँदै आएको साझा घर एउटा सार्वजनिक संस्था हो । त्यो पनि युवाहरूले चलाएको साझा घर कर्णालीका धेरै अबोध बालबालिकाको सहारा र शिक्षा दिने थलो बनेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको साझा घर नेपाल बेसहाराको सहारा बनेको छ । सडकमा रहेका आमाबुबा कोही नभएका फरक पहिचान भएका व्यक्ति, बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरूको साझा घर नेपालले सहारा दिँदै आएको छ ।

सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका र बेसहारा मानिसलाई उचित वासस्थान र उनको परिवारसम्म मिलन गराउने उद्देश्यले सञ्चालनमा आएको साझा घरका अध्यक्ष भीम विश्वकर्मा बताउँछन् ।

उनका अनुसार साझा घरले अहिले २७ जना बालिका र ४२ जना बालक गरी ६९ जना बालबालिकालाई आश्रय दिँदै आएको छ । उनीहरूको गाँस बाँस र कपासको व्यवस्था गरेर अभिभावकको भूमिका पनि साझा घरले निर्वाह गर्दै आएको छ ।

मुठिदानबाट चलेको अभियान

एक सार्वजनिक संस्था चलाउन धेरै सकस छ । कैयौँ संघ संस्था राम्रो व्यवस्थापन गर्न नसकेर बन्द भएका छन् । तर कर्णालीको पहिचान बन्दै आएको साझा घर एक फरक अभियानबाट सञ्चालित संस्था हो ।

‘एक छाक, एक मुठिदान स् साझा घर नेपालको अभियान’ भन्ने नारासहित यो संस्था सञ्चालित छ । अर्थात् एक जनाले एक मुठी दान दियो भने धेरै बालबालिकाको पेट भर्न सकिन्छ भन्ने प्रेरणा यो संस्थाले दिँदै आएको छ । युवाहरूले सञ्चालन गरिरहेको साझा घरमा अहिले तीन जना स्वयंसेवीले बालबालिकाको हेरचाह गरिरहेका छन् ।

सडकमा रहेका बेसहारालाई घरसम्म पुर्‍याउने र आमाबुबा नभएका बालबालिकालाई साझाघरमा राखेर गास, बास, शिक्षा दिक्षाको व्यवस्था गर्ने उद्देश्यसहित २० चैत २०७५ सालमा साझा घर सञ्चालनमा आएको संस्थाका अर्का संस्थापक तपेन्द्र विश्वकर्माले बताए ।

‘हामीले यहाँ सहयोग जुटाएरै बेसहारालाई खाने बस्ने र पढ्ने व्यवस्था गरेका छौँ’ उनले भनेका छन् । उनका अनुसार त्यसमध्ये ९ जना बालबालिकालाई उनीहरूले घरपरिवारसँग पुनर्मिलन गराएका छन् ।

व्यवस्थापन गर्न चुनौती

संस्थाका संस्थापकहरूका अनुसार साझा घर सञ्चालनमा आएपछि सुरुवाती दिनमा निकै सकस थियो । खासगरि व्यवस्थापनको पाटोमा बाहिरबाट मानिसहरुले बचन दिए पनि व्यवहार पूरा नगर्दा आफैँले व्यवस्थापन गर्नुपरेको उनीहरूको तितो अनुभव छ ।

‘बाहिरबाट भन्न सहज छ । तर वास्तविक रूपमा व्यवस्थापन गर्न निकै जटिल छ’ तपेन्द्रले साझा घर सञ्चालनको दुःख बिसाउँदै भने, ‘हामीले आफैँलाई जोखिममा राखेर पनि बेसहाराका लागि आश्रय स्थल बनाएका हौँ । राम्रो सोच भएकाले सुरु गर्‍यौ । तर निकै गाह्रो छ ।’

मुठिदानले सञ्चालन हुँदै आएको यो संस्थालाई अरू कुनै बाह्य संघ संस्थाको सहयोग छैन । स्थानीय पालिका, प्रदेश सरकारका कुनै पनि निकायले सहयोग गरेका छैनन् । तर पनि युवाहरु साझा घर सञ्चालनमा कटिबद्ध छन् ।

‘कुनै तहबाट ठूलो सहयोग छैन । कुनै सहयोगी मनहरू जन्मदिनको उपहारमा खाद्यान्न, लत्ता कपडा लगायतका सामान दिन्छन्,’ तपेन्द्रले चुनौती भए पनि व्यवस्थापनबारे भने, ‘मासिक ८० हजार रुपैयाँ भाडा पर्ने घर लिएर बालबालिकालाई सहारा दिएर राखेका छौँ । ठूलो सहयोग चाहिँदैन । अरुका लागि सहारा बन्न सक्नेले सकेको सहयोग गरे पुग्छ ।’



Leave a comment

Your email address will not be published.


*