मट्का चिया बेचेर वार्षिक १५ लाख आम्दानी

मट्का चिया बेचेर वार्षिक १५ लाख आम्दानी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेटको दूरीमा एउटा घना जंगल छ । शान्त, धुलो धुवाँबाट अलग । सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकाईली काँक्रेविहार रोड, त्यही शान्त ठाउँमा छ, सुरज क्षत्रीले संचालन गरेको ‘दाह्री भाईको चिया पसल’ । सुर्खेतमा प्रख्यात मट्का चिया पाउने ठाउँ हो दाह्रीभाइको चिया पसल । सुर्खेतको काँक्रेविहार जाने बाटोमै पर्छ दाह्री भाईको चिया पसल । जुन सुर्खेतमा नयाँ मट्का चिया व्यवसाय हो । यो व्यवसायबाट सुरज क्षेत्रीले वार्षिक १४ देखि १५ लाखसम्म आम्दानी गर्छन । उनै सुरज क्षेत्री (दाह्री भाई) सँग ज्वाला सन्देश डटकमले लिएको अन्तरवार्ताको सम्पादित अंश :

चिया बेच्न कहिले देखि सुरु गर्नुभयो ?

२०७५ वैशाख १ गते व्यवसाय सुरु गरेको हुँ ।

चिया बेच्न पर्छ भन्ने सोच कसरी आएको थियो नी ?

व्यापार व्यवसाय गर्नुपर्छ भन्ने सोच पहिले देखि नै थियो । २०७४ सालमा विदेश जाने योजना पनि थियो । त्यसबेला मैले जापान जाने सोच बनाएको थिएँ । चार महिने जापानिज भाषा पनि पढे । पछि फस्ट इयरको परिक्षा दिन सुर्खेत आएँ । सुर्खेत आइसकेपछि यहाँको वातावरण देखेर सोच परिर्वन भयो । अब बाहिर विदेश जानुभन्दा यहिँ केही गर्नुपर्छ, आफ्नै देशमा बसेर नयाँ कामको थालनी गर्दा भोलीसम्म राम्रो हुन्छ । अझ त्यत्रो धेरै लगानी लगाएर बिदेश जानुभन्दा आफ्नै देशमा थोरै लगानी लगाएर चिया नै भए पनि बेच्छु भन्ने सोच आएको हो । सोच ठुलै रेस्टुरेन्ट, क्याफे संचालन गर्ने थियो फेरी त्यत्रो लगानी लगाएर चलेन भने डुब्छ की भन्ने लाग्यो । त्यसैले सानै गरौँ भनेर यो व्यवसाय संचालन गरेको हुँ ।

व्यवसाय सुरु गर्दा यहाँको पहिलेको अवस्था कस्तो थियो नी ?

व्यवसाय सुरु गर्दा सामान्य रुपबाट सुरु गरेको हो । यस्तो मट्का चिया पाउने ठाउँ कही पनि थिएन । सबैका लागि नयाँ र नौलो थियो । भाँडाहरुमा चिया जहाँत्यहि पाउँथ्यो तर माटोको भाडोमा मट्का चिया थिएन । माटोको भाडामा चिया बेच्नु सुर्खेतका लागि नौलो थियो । सुरुमा गज्जबकै भन्ने जस्तो पनि थिएन सामान्य नै थियो । सुर्खेतमा सबैभन्दा नयाँ व्यवसाय गरेकोमा दिनहुँ ग्राहक थपिदै गए । व्यवसाय फस्टाउँदै गयो । आफुले गरेको जे जति भएता पनि खुसी नै थिएँ त्यो बेला ।

माटोको भाडोमा मट्का चिया बेच्नुपर्छ भन्ने सोच कसरी आयो ?

सुर्खेतमा बिल्कुलै नयाँ र नौलो थियो यो व्यवसाय । म काठमाडौँ बसेर जापानीज भाषा पढ्दा खेरि नै माटोको भाडोमा विभिन्न परिकार र चियाहरु बेच्न सकिन्छ भन्ने सुनेको थिय । म सुर्खेत आएपछि एउटा साथीलाई माटोको भाँडा, त्यहाँ भक्तपुरमा पाउँछ सुर्खेत ल्याइदिनुस भनेर भने । ३० वटा गिलास उहाँले खोजेर पठाइदिनुभयो । ३० वटा गिलास २५ वटा दही जमाउने भाडा सुर्खेत आइपुग्यो । त्यहीँबाट सुरु गरेको हो । अहिले ग्राहकले जहिले पनि नयाँ चिज खोज्छन् । अब सबैले पुरानै चाउमिन, छोला समोसा लगायतका सबैले गरेका चिजहरु राखेर बेचेर मात्र ग्राहक सन्तुष्ट हुँदैनन् । ग्राहकलाई सन्तुष्ट र खुसी पार्न नयाँ नयाँ चिजको सुरुवात गर्नुपर्छ अनि मात्र ग्राहक सन्तुष्ट हुन्छन् ।

माटोको भाँडोले बनेको गिलासमा मट्का चिया पिउनुको फाईदा चाँहि के हुन नी ?

गिलासमा त चिया जहाँतही पाउँछ तर माटोको भाडोमा चिया कमै मात्र ठाउँमा पाइन्छ । र ग्राहकका लागि नयाँ पनि हुने भयो । माटोको भाडोमा चिया पिउनु । माटोको गन्ध भनौँ वा माटोको बास्नासँग चिया पिउनुको आनन्द बेग्लै पनि हुन्छ । त्यसैले पनि यो मट्का चिया प्रख्यात छ ।

आगामी दिनमा के छन् योजना ?
आगामी दिनमा मट्का चियालाई नै अझै व्यवस्थित रुपमा अगाडी बढाउने सोच बनाएको छु । अहिले मट्का चिया र लप्सी मात्र बेचेको छु । चियाको आइटम पनि दुई तीन वटा मात्र छ । चक्लेट चिया, मट्का चिया, दुध चिया र कोकोनट चिया छ अहिले । आगामी दिनमा ग्राहकहरुको संख्या थपिदै गए अन्य परिकारहरु पनि थप्ने योजना रहेको छ । व्यापार बढ्दै गयो भने बजारमा पनि एउटा ब्रान्च संचालन गर्ने सोच छ । बिदेशमा अब काम गर्ने सोचले होइन घुम्न मात्र जाने हो ।

सुर्खेतमा दाह्री भाईको चिया पसलका रुपमा प्रख्यात छ कसरी भयो यस्तो ?

थोरै लगानीमा चियाको स्वाद, सुर्खेतमा नयाँ भएकाले र नाम नै युनिक भएकाले प्रख्यात भएको हुन सक्छ । अर्को कुरा सबैले मलाई पनि दाह्रीभाई दाह्री भाई भन्ने हुनाले पनि पसलको नाम नै दाह्री भाइको चिया पसल राखेको हुँ ।

सुरुवाती अवस्था र अहिलेको अवस्थामा के फरक पाउनुभयो ?

पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । पहिले लप्सी आइटम पनि थिएन । ग्राहकहरु पनि कमै मात्रामा आउथे । प्रचार–प्रसार पनि थिएन । अहिले प्रचार प्रसार पनि भएको छ । अहिले संघीय सांसद, मन्त्री, प्रदेशका मुख्यमन्त्री देखि मन्त्री देखि पत्रकार तथा कर्मचारीले मट्का चिया पिउन यहाँ आउनुहुन्छ ।

यो व्यवसायबाट आम्दानी के कति हुन्छ ?

यो व्यवसायबाट आम्दानी राम्रै छ । यो व्यवसायबाट वार्षिक १४ देखि १५ लाख आम्दानी हुन्छ । सन्तुष्ट नै छु ।

प्रतिक्रिया