‘धन्यवाद सभा’ मा किन दुई बाकस राख्दैछन् रवि लामिछाने ?

‘धन्यवाद सभा’ मा किन दुई बाकस राख्दैछन् रवि लामिछाने ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेपछि तीन स्थानमा ‘धन्यवाद सभा’ गर्ने भएका छन् । विजय र्यालीको साटो लामिछानेले आज दिउँसो ३ बजे भरतपुर १० स्थित गेस्ट हाउस चौरमा, शुक्रबार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार, दिउँसो ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुरमा धन्यवाद सभा गर्ने जानकारी दिएका हुन् ।

उनले धन्यवाद सभामा आउँदा आफ्ना लागि फूलमाला अवीर र खादा केही पनि नल्याउन आग्रह गर्दैछन् । बरु सोही धन्यवाद सभास्थलमा लामिछानेले दुईवटा बाकस राख्ने बताएका छन् । एउटा बाकस समस्या पेटिका लेखिएको हुने र अर्को उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुने उनको भनाइ छ ।

‘मेरो सभा हुने ठाउँहरूमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ । त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला’, उनले भने, ‘माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ।’

उनले आफू छिटोभन्दा छिटो काममा लाग्न चाहेको भन्दै भोट माग्न र र्याली गर्न आउन नभ्याएका ठाउँमा काम गर्न आउने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया