प्रचण्डलाई ओलीको फोन : मिलेर अघि बढौं

प्रचण्डलाई ओलीको फोन : मिलेर अघि बढौं

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए । ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’  प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए ।

प्रतिक्रिया