सन्दीपले भने- छिट्टै खेलमा फर्किन्छु

सन्दीपले भने- छिट्टै खेलमा फर्किन्छु

काठमाडौं :  नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी तिरेर तारेखमा रिहा भएका छन् । केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।

उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

सन्दीपले समर्थकहरुसँग बोल्नुअघि कानुन व्यवसायीले उनलाई सम्झाएका थिए । धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’ किशोरी बलात्कार गरेको आरोपमा उनी गत असोज २० गते पक्राउ परेका थिए ।

प्रतिक्रिया