अन्तरराष्ट्रिय श्रमिक महिला दिवस

अन्तरराष्ट्रिय श्रमिक महिला दिवस

 

 

 

 

 

 

मार्च ८ मा म कसरी उभिऊँ मञ्चमा ?
कसरी समाउ माइक
र बोलूँ महिला मुक्तिको बारेमा ?

कस्तो कविता म लेखुँ
महिलाको पहुँच शिर्षकमा ?

कस्ता पात्र म खडा गरुँ
लैङ्गिक समानता शिर्षकको कथामा ?

त्यस्तो रचनात्मक र सिर्जनात्मक के चाहिँ गरुँ म
श्रमिक महिलाहरुको पक्षमा ?

म कसरी सामेल होऊँ
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको
महिला दिवस भव्य सभ्य र व्यवस्थित रुपमा मनाउने आह्वानमा ?

मौन विरोध होइन म आत्मसमर्पण गर्दैछु
सर्भाइबरलाई थ्रेट दिने यो समाजमा
म केही गर्न सक्दिन
अभियुक्तलाई फुलमालाले
स्वागत गर्ने यो देशमा
लैङ्गिक समानताको वकालत म गर्न सक्दिन ।
सिंहदरबार र न्यायालयले आम सर्भाइवरलाई
सार्वजनिक रुपमै झापड हानिरहँदा
म महिला मुक्तिको कुनै पनि गीत गाउन सक्दिनँ ।

महिला दिवस मनाउने सिंहदरबारको आह्वान
लैङ्गिक समानताको बिगुल फुक्ने
फगत एक ढोङ्गी क्रियाकलाप हो
माफ गर्नुहोस्,
मार्च ८ मा
म कुनै पनि क्रियाकलाप
मनैदेखि गर्न सक्दिन ।

बोधार्थ –
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

प्रतिक्रिया