प्रथम बृहत यौनिकता शिक्षा राष्ट्रिय सम्मेलन सम्पन्न

प्रथम बृहत यौनिकता शिक्षा राष्ट्रिय सम्मेलन सम्पन्न

सुर्खेत –   प्रथम बृहत यौनिकता शिक्षा राष्ट्रिय सम्मेलन बिहीबार सम्पन्न भएको छ । युएनएफपीए र नेपाल परिवार नियोजन संघ लगायत गैरसरकारी संस्थाहरुको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको सम्मेलनले ५ बुदे प्रतिवद्दता जारी गरेको छ ।

सम्मेलनले बृहत यौनिकता शिक्षा सम्बन्धी नीतिगत, कानूनी र कार्यक्रम सरकारका तिनवटै तह, गैरसरकारी संस्थाहरु र सरोकारवालाबिच समुन्वय र सहकार्यमा संयुक्त प्रयास गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

बृहत यौनिकता शिक्षालाई किशोरकिशोरीका लागि अत्यावश्यक शिक्षाको रुपमा उपलब्ध गराउने र गुणस्तरिय स्वास्थ्य सेवामा पहूच प्र्याउन सबैले पहल गर्ने, किशोरकिशोरीहरुलाई बालबिबाह, अनिच्छित गर्भधारण रोक्न र सबै प्रकारका यौनजन्य संक्रमणबाट सुरक्षित बनाउन सहजीकरण गर्ने प्रतिवद्दता पनि सम्मेलनले गरेको छ ।

यौनिकता सम्बन्धी सिकाई सामग्रीको विकास गरि तिनको प्रभावकारी प्रयोगमा अभिभावकलाई समेत संलग्न गराउने र किशोरकिशोरीको सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्न प्रोत्साहन गर्ने प्रतिवद्दता पनि सम्मेलनले गरेको छ ।

त्यस्तै सम्मेलनको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद तथा नेपाल परिवार नियोजन संघका सदस्य सिता कुमारी रानाले सकारात्मक सोचले जहाँ आवश्यकता छ त्यहाँ काम गर्यो भने आवश्य सफलता मिल्ने बताउनुभयो । गरिबलाई सुधार्ने राजनीति गर्दा उद्देश्य प्राप्ति हुने उहाँको भनाइ थियो ।

सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजनका अध्यक्ष हिमालय लाल कसजूले सन् २००७ मा नेपाल परिवार नियोजन संघको एक्लो प्रयासले वृहत यौनिकता शिक्षालाई विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न पैरवी गरेको स्मरण गर्दै आजको अवस्थासम्म धेरै संघ संस्थाहरु हातेमालो गर्दै संयुक्त रुपमा पैरवी गर्ने अवस्थामा पुगेकोमा खुशी व्यक्त गर्दै भविश्यमा पनि हातेमालो आवश्यक रहेको बताउनुभयो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमल पोखरेलले यौन तथा प्रजनन् स्वास्थ्यका बिषयमा सही सूचना अभावमा हजारौ किशोर किशोरीले सास्ती बेहोर्नु परिरहेको बताउदै यसका बिषयमा सही सूचना प्राप्त गर्न सके मात्र बृहत यौनिकता अधिकारको रुपमा स्थापित हुने दावी गर्नुभयो ।

नेपाल परिवार नियोजन संघका कार्यकारी डा।नरेशप्रताप केसीले सम्मेलन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

यस्ता छन् ५ बुदे प्रतिवद्दता

बृहत् यौनिकता शिक्षालाई सबै किशोरकिशोरी तथा युवाको लागि अत्यावश्यक शिक्षाको रुपमा लिई तत् सम्बन्धमा गुणस्तरीय शिक्षाको प्रत्याभूति हुने गरी युवाका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुयाउने ।

बालविवाह एवम् अनिच्छित गर्भधारण रोक्न, सबै प्रकारका यौन तथा लैङ्गिक हिंसा र हानिकारक अभ्यास, एचआइभीरएड्स लगायत यौनजन्य सङ्क्रमण हुनबाट सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्व रूपमा रूपान्तरण हुनका लागि सहजीकरण गर्ने ।

अनलाइन तथा अफलाइनका माध्यमबाट शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता विकास एवं अन्य सहयोग मार्फत बृहत् यौनिकता शिक्षासम्बन्धी सिकाइ सामग्री विकास गरी ती सामग्रीको प्रभावकारी प्रयोगमा किशोरकिशोरी, युवा, समुदाय तथा अभिभावकहरूलाई संलग्न गराउने ।

किशोरकिशोरी तथा युवाको सिकाइ अनुभव र असल अभ्यासहरूलाई एक आपसमा आदानप्रदान गर्न प्रोत्साहित गर्ने ।

यस सम्मेलनको सन्देश तथा प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न वृहत् यौनिकता शिक्षाको विकास तथा अभिवृद्धिमा सहकार्य गर्न हामी सबै प्रतिबद्ध रहने छौँ ।

 

प्रतिक्रिया