महिला किशोरी तथा बाल अधिकार कार्यक्रमबारे जानकारी

महिला किशोरी तथा बाल अधिकार कार्यक्रमबारे जानकारी

दैलेख (दुल्लु) जेठ २४,
केड सुर्खेत र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको साझेदारीमा संचालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम बारे दुल्लू नगरपालिकाका सरोकारवालालाई जानकारी गराईएको छ । महिला सशक्तिकरण मञ्च दैलेख र केड सुर्खेतले दोस्रो चरणको कार्यक्रम अन्तरगत दुल्लू नगरपालिका, डुङ्गेश्वर गाउँपालिका,र भगवतीमाई गाँउपालिकामा कार्यक्रम संचालन गरेको छ । दुल्लू नगरपालिकाका वडा न. १०, ११, १२ र १३ मा किशोरी तथा बालअधिकार कार्यक्रम सञ्चालन गरेको छ भने भगवतीमाई गाउँपालिकामा वडा नं. ७ र डुङ्गेश्वर गाउँपालिकाको वडा नं. २ र ५ मा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक दुर्गा लम्सालले जानकारी दिइन ।

किशोरी तथा बालअधिकार कार्यक्रम सञ्चालन भएको क्षेत्रमा महिला हिंसा, छाउपडी, बालविवह न्युनीकरण सम्बन्धि वकालत गरिरहेको उनले बताइन् । महिला सशक्तिकरण मञ्च दैलेखले पहिलो चरणको कार्यक्रम अन्तरगत २० वटा गाविसमा सञ्चालन गरेको थियो । केड सुर्खेतकी वकालत अधिकृत लक्ष्मी चन्दले कार्यक्रमको उद्येश्यको बारेमा जानकारी गराउदै कार्यक्रमले विभिन्न स्वास्थ्य शिविर संचालन गरेर पाठेघर सम्बन्धि समस्या भएको महिलाहरुको उपचारमा सहयोग पुगेको बताइन् ।
कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले अबको केही समयमा नगरसभा बस्ने भएकोले संघसंस्थाले आफ्नो वार्षिक कार्यक्रम नगरपालिकामा पेश गर्न आग्रह गरे ।

यस्तै नगरपालिकाका उपप्रमुख विष्णु थापाले संघसंस्थाले गरेको योगदान बालुवामा पानी हाले जस्तो भएकोले कार्यान्वयनमा जोड दिनु पर्ने बताइन । उप–प्रमुख थापाले दुल्लू नगरपालिकामा संचालन भएका संघसंस्थाको विवरण संकलन गरिने बताइन । महिला सशक्तिकरण मञ्चको आयोजना र केड सुर्खेतको सहयोगमा महिला किशोरी तथा बाल अधिकार कार्यक्रमको बारेमा दुल्लु नगरका सरोकारवाला निकायहरुलाई जानकारी गराइएको हो ।

प्रतिक्रिया