डा.गोविन्द केसीकोअनशन २५औं दिनमा

डा.गोविन्द केसीकोअनशन २५औं दिनमा

डा. गोविन्द केसीको १५औं अनशन सोमबार अहिलेसम्मकै लामो (२४ दिन) पुगेसँगै उनको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक भएको छ । रक्तचाप, पोटासियम, सेतो रक्तकोष र सुगरका साथै रगतमा अक्सिजनको मात्रा समेत एकदमै घटेको छ । ८० वर्षीया आमाको विशेष आग्रहमा स्वास्थ्य परीक्षण गराएका केसीलाई ‘जतिखेर जे पनि हुन सक्ने’ चिकित्सकहरुले जनाएका छन्।

काठमाडौँ — डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बनेको छ । उनलाई जुनसुकै समय जे पनि हुन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । रक्तचाप कम भएपछि सोमबार स्लाइन पानी छिटो–छिटो दिएर ‘रिस्युसिटेसन (सुधार प्रक्रिया)’ समेत गरिएको थियो । शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणिकाको संख्या सामान्य स्तरभन्दा निकै तल गइसकेको छ । २४ दिनदेखि जारी आमरण अनशनका कारण उनी अत्यन्त कमजोर भएका छन् । ६१ वर्षीय डा.केसीको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति धेरै जोखिमपूर्ण हुने चिकित्सकहरूको ठम्याइ छ । उनको रगतमा ‘पोटासियम, डब्लूबीसी (सेतो रक्तकोष) तथा सुगरको स्तर एकदमै कम रहेको सोमबार साँझ जारी गरिएको रगत परीक्षण प्रतिवेदनमा उल्लेख छ । म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि कम छ । रक्तचाप ८५/५२ अर्थात् धेरै कम देखिएको छ ।

८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रह र सहकर्मी प्रा.डा. दिव्या सिंह शाहको सम्झाइबुझाइपछि डा.केसीले सोमबार दिउँसो परीक्षणका लागि रगत दिन स्वीकृति दिएका हुन् । ‘डब्लूबीसीको कमीले गर्दा उनलाई विभिन्न प्रकारका संक्रमणको जोखिम बढेको छ,’ डा.शाहले भनिन्, ‘स्थिति विस्तारै बिग्रँदै गएको छ ।’

शरीरमा पोटासियमको स्तरमा आएको कमीले उनले मांसपेसी बाउँडिने, गल्ने, थकाइ महसुस हुनेजस्ता समस्या भोग्दै आएका छन् । यसले गर्दा मुटुको चालमा असामान्य अवस्था आउने सम्भावनासमेत रहेको डा.शाह बताउँछिन् । सुगर धेरै कम हुँदा मस्तिष्कमा समस्या उत्पन्न हुन सक्ने जोखिमतर्फ उनले सचेत गराइन् ।

डा.केसीको रगतमा अक्सिजनको मात्रा पनि निरन्तर घटिरहेको छ । एकैछिन पनि अक्सिजन नलगाउँदा उनलाई निकै अप्ठ्यारो हुन्छ । ‘उहाँलाई रातभर छाती दुख्ने, पिसाबका लागि हिँड्दा मुटुको धड्कन धेरै बढ्ने, मांसपेशी बाउँडिनेलगायत अत्यधिक कमजोरी देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठले भने, ‘रक्तचाप कम भएर सोमबार उहाँलाई स्लाइन पानी छिटो–छिटो दिई रिस्युसिटेसनसमेत गर्नुपर्यो ।’

डा.केसीमा हाल देखिएको छाती दुखाइको समस्यालाई हलुका रूपमा लिन नहुने औंल्याउँदै डा.श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यस्थिति जटिल छ, जतिखेर जे पनि हुन सक्छ ।’
डा.केसीसँग सोमबार राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर जबरा, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताले भेटी उनको मागमा समर्थन जनाएका थिए । डा.केसीको १५ औं अनशन सोमबार २४ दिनमा पुगेपछि हालसम्मकै लामो भएको छ ।

यसअघि उनको ११ औं अनशन २३ औं दिनमा स्थगित भएको थियो । मुलुकको प्राकृतिक विपत्तिका कारण त्यतिखेर उनले अनशन स्थगन गरेका थिए । यसैबीच नेपाल चिकित्सक संघले वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न देशभरका चिकित्सकहरूलाई आहवान गरेको छ । आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी ओपीडी सञ्चालन गर्न संघले आहवान गरेको हो । अनशन २४ औं दिनमा पुग्दासमेत सरकारले जीवनरक्षाको गम्भीरता प्रकट गर्न नसकेको जनाउँदै संघले विभिन्न दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले रेजिडेन्ट चिकित्सकहरूले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कारप्रति ऐक्यबद्धतासमेत प्रकट गरेको छ । यस्तै नागरिक समाजसँग समन्वय गरी आ–आफ्ना जिल्लामा रिले अनशन, र्याली, धर्नालगायत विरोधका कार्यक्रमसहित सशक्त विरोध गर्न पनि संघले मुलुकभरका चिकित्सकलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकाको हकमा भने संघका पदाधिकारीसहित सबै चिकित्सकलाई वसन्तपुर डबलीमा उपस्थित भएर १० देखि ५ बजेसम्म अनशन बस्न अपिल गरेको छ ।

यसैबीच त्रिवि शिक्षण, वीर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट डाक्टरहरूले आकस्मिकबाहेक सेवामा सरिक नहुने जनाएका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन त्रिवि शिक्षण, रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै आकस्मिक र आईसीयूबाहेकका सबै सेवा बहिष्कार गर्ने जनाएका हुन् ।

प्रतिक्रिया