मन्त्र नगरेको धागो

मन्त्र नगरेको धागो

दश वर्ष अघि ०६५ साउन ३२ गते रक्षा बन्धनका दिन दलितहरुलाई समेत रक्षा बन्धनको धागो बाँध्ने प्रवन्ध मिलाइएको थियो । रक्षा बन्धन बाँधी दिने पण्डित त्यतिबेला सदरमुकामको त्रिभुवन उमावि प्रवेशद्वार अगाडि जोतिष पसल गरेका भवानीप्रसाद शर्मालाई ३–४ दिन पहिलेदेखि आग्रह गरेको थियौं, उनी सहमत पनि थिए । धेरै पृष्ठभूमी बाँधेर आग्रह गरेपछि मात्र उनी सहमत थिए तर के पो आउँदैनन् कि भनेर नियमित सम्पर्क बनाई राखेकोमा रक्षा बन्धनको दिन विहान ८ बजे एक्कासी पसल बन्द गरी हिडेछन्, मोवाइल पनि स्वीचअफ !

Amar Sunar

उनकै सल्लाहमा सदरमुकामको लोकतान्त्रिक चोकमा सार्वजनिक कार्यक्रम गर्ने गरी ब्यानर समेत लेखाई सकिएको थियो । रक्षा बन्धनको धागो बाँँध्न इच्छुकहरुको भेला पार्ने जिम्मा भएका साथीहरु त्यसमा जुटेका थिए, पण्डित ल्याउने मेरो जिम्मा थियो । पण्डित भागेको खवर गरुँ, कार्यक्रम विथोलिने समस्या आइलाग्यो । विकल्प केही भइहाल्ला भनेर विहान ९ बजेतिर नयाँबजारतिरबाट पुगेकै बेला नारायण मन्दिरतिरबाट आउँदै गरेका काँग्रेस नेता पण्डित तिलकप्रसाद रिजालसंग लोकतान्त्रिकचोकमै भेट भयो । उनलाई देख्ने वित्तिकै रक्षा बन्धन बाँध्न लगाउन सकिन्छ होला भन्ने दरिलो विकल्प र मनमा अठोट लिएँ ।
सुरुमा नमस्कार गरें तर म रोकिइन उनीसंगै कदम मिलाएर नयाँ बजारतर्फ फर्किएँ । त्यस क्रममा त्यतिबेला भरखरै काँग्रेसले राष्ट्रपति जितेको र एमाओवादी–एमाले गठबन्धनको सरकारको विषयमा हिंडदै २ मीनेट जति राजनीतिक गफ भए भीम टेलर्स नजिक पुग्दा कुरा खोलें आज त रक्षा बन्धन दलितहरुलाई पण्डितहरुले धागो समेत बाँध्न इन्कार गर्छन् तपाईंको धारणा के भनेर सोधें । पत्रकार अनि अधिकारकर्मीले सोधेको कुरामा उनले सजगतापूर्वक जवाफ दिए ‘बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरु पनि हिन्दू भएको बाँधिदिए हुन्छ ।’ लोकतन्त्रको हिमायती पार्टीको जिल्ला कार्य समितिका सदस्य पत्रकारको प्रश्नमा जवाफमा अपूरो नहोस् भनेर होला यसलाई उनले प्रष्ट्याउदै गए ।
हिंड्दै भलाकुसारी चलिरहेको थियो अदालत अगाडि पुग्दा उनलाई मैंले अनुरोध गरें ‘आज तपाईले दलितहरुलाई रक्षा बन्धन बाँधिदिनू प¥यो ।’ प्रतिउत्तरमा उनले भने “बाँधीदिन्थें तर आज व्यस्त छु ।” मैंले फेरी कसें जसरी पनि समय निकाल्नु प¥यो आधा घण्टा मात्र । उनले उम्कन धेरै प्रयास गरे पछ्याईरहें, बाल मन्दिर नजिक पुग्दा बासुदेव तिमल्सिनाको डेरा पस्नुछ भने, त्यहाँ पनि संगै गएँ । उनका माइती रहेछन्, बासुदेव र उनीको परिवारलाई धागो बाँधीदिए । मलाई पठाउने उद्देश्यले त्यहाँ करिव पौने घण्टा रोकिए तर मैंले छोडिन ।
बासुदेवको डेराबाट अगाडि मूलबाटोमा आई पुग्दा मलाई पठाउने उनले प्रयत्न गरेका थिए, मैंले भने काँग्रेस कोषाध्यक्ष हिक्मत बिश्वकर्मा, दलित संघका नेता मोहन सुनार लगायतका साथीहरुलाई तपाईं आउँदै हुनुहुन्छ भनेर म्यासेज गरी सकें भनेपछि नाई भन्न नसकेर भने ‘म डेरामा खाना खाएर आउँछु, तपाईं जानुस् ।’ भवानी गुरु भागेजस्तै उनी पनि भाग्लान् भन्ने मनमा त्रास थियो मैंले मानिन्, हुलाक नजिक उनको डेरामा संगै पुगें ।
उनकी श्रीमतिले मलाईं पनि खाना सोधिन्, खाना भन्दा ठूलो कुरा तिलक गुरुलाई धागो बाँध्ने कार्यक्रम लैजान लागेको कुरा खोलिदिएँ । त्यतिबेला विहानको साढे १० बतिसकेको थियो मैंले खाना खाएको त थिइन तर गुरुलाई लिएर गए पुग्छ भनें । तिलक गुरु खाना खाएपछि १ घण्टा सुत्ने बानी छ भनेर ओछ्यानमा पल्टिए, त्यतिबेला करिब ११ बजिसकेको थियो । कार्यक्रम स्थलमा सामुहिक रक्षा बन्धन कार्यक्रमको व्यानर टाँगेर साथीहरु पर्खिरहेको मोवाइल एसएमएसबाट अपडेट गर्दै थिए ‘आउँछन् भने छिटो गर्नुस्, नहुने हो भने पनि टण्टा नगरौं ।’
यता तिलक गुरु खाना खाएर १५–२० मीनेट मात्र सुतेका थिए, मैंले भनें ‘आज चाहिं पूरा १ घण्टा सुत्न पाउनुहुन्न्, साथीहरुले कार्यक्रमको तयारी गरिसक्नु भएको छ अव कार्यक्रमतिर जाम ।’ अभिव्यक्त नभएको भद्र दवावमा जान तयार भए त्यहाँ पुग्दा फूलमालाले उनको भव्य स्वागत भयो । सामूहिक रक्षा बन्धन औपचारिक कार्यक्रमको तयारीमा जुटेका कमल विक, पार्वती बिशुन्के (अहिलेका साँसद), कृष्ण बिक, सबिना बिश्वकर्मा, रेशम बिश्वकर्मा, पदम सुनार लगायतका साथीहरुले तयारी पूरा गरेका थिए ।
पण्डितको स्वागतपछि उनीलाई संक्षिप्त भाषण गर्न लगाइयो उनले भने ‘बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरु पनि हिन्दू भएको बाँधिदिए हुन्छ । म समानताको पक्षधर पार्टी नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत भएकोले रक्षा बन्दन बाँध्न हिच्किचाउने कुरै भएन, त्यसैले रक्षा वन्धनको धागो बाँध्ने आएको छु ।’ उनले नेपाली काँग्रेसले २००३ सालमा धनमानसिंह परियारलाई महामन्त्री बनाएकोदेखि दलितको पक्षमा पार्टीले गरेका अरु थुप्रै सकारात्मक कामको व्याख्या गरे ।
भाषणपछि रक्षा वन्धनको धागो बाँध्न सुरु गर्दा धागो बाँधी माग्ने सबैलाई ‘मन खोलेर दान दिनू’ भनी कड्किए । दलितहरु दानदातव्यमा लोभ गर्दैन भन्ने थाहा नपाएका होइनन् फेरि पनि उनी कड्किएकै कारण सबैले सक्दो धेरै दान दिए, करिव १ घण्टा चलेको सामूहिक रक्षा बन्धन कार्यक्रममा करिब २३ सय भन्दा बढी रकम जम्मा भयो, त्यो रकम अनाथलयलाई दिने घोषणा गरेर गए । दलित मात्र सहभागी सामूहिक रक्षा बन्धन कार्यक्रमबाट तिलक गुरु फर्किंदा दलित अगुवाहरुले हार्दिकतापूर्वक सम्मान गरेर पठाए ।

भेलामा तिलकप्रसाद रिजालप्रति सबै पण्डित खनिएर आपत्ति जनाएछन् ‘तपाईले बाँध्नुथियो भने अव सबैले बाँध्नू भनीदिनू पथ्र्यो । आफू दलितहरुको प्रियपात्र बन्ने, हामीलाई मुद्दा लगाउने तपाईंकै परपञ्च हो ।’ जवाफमा उनले भनेछन् ‘मन्त्र नगरेको धागो पो बाँधी दिएको हुँ।’

जिल्लाकै बरिष्ठ पण्डित तिलकप्रसाद रिजालले दलितलाई रक्षा वन्धन धागो बाँधेको कुरा स्थानीय रेडियो र पत्रपत्रिकाहरुले ठूलो महत्व दिएर समाचार प्रसारण तथा प्रकाशन गरे । तर त्यही दिन बेस्तडामा दलित स्वाबलम्वी समाजका कर्मचारी जनकलाल सुनार र बेस्तडा बजारका चन्द्रबहादुर बिकलाई दलित भएकै कारण रक्षा वन्धन धागो बाँध्दैन भनी तर्केको विषयमा रुम गाउँका २२ वर्षीय दिपक उपाध्याय विरुद्ध जातीय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालय हुँदै दैलेख जिल्ला अदालतमा पुग्यो । दिपक उपाध्याय बिरुद्ध त्यो मुद्दा परेपछि जिल्लाभरका सबै ब्राम्हणहरुको एक भेला भयो, त्यो भेलामा तिलकप्रसाद रिजालप्रति सबै पण्डित खनिएर आपत्ति जनाएछन् ‘तपाईले बाँध्नुथियो भने अव सबैले बाँध्नू भनीदिनू पथ्र्यो । आफू दलितहरुको प्रियपात्र बन्ने, हामीलाई मुद्दा लगाउने तपाईंकै परपञ्च हो ।’ जवाफमा उनले भनेछन् ‘मन्त्र नगरेको धागो पो बाँधी दिएको हुँ।’
दिपक बिरुद्धको मुद्दा के भयो ?
दिपक उपाध्यायले तिमीहरु तल्लो जातलाई म धागो बाँध्दैन भनेको विषयमा दैलेख जिल्ला अदालतमा परेको मुद्दामा २०६५ चैत ३० गते तत्कालिन जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासबाट तीन महिना कैद र एक हजार रुपैंयाँ जरिवाना भएको थियो । दैलेखमा जातीय विभेद सम्वन्धी अदालत पुगेको यो पहिलो मुद्दा थियो ।
पुनरावेदन अदालत सुर्खेतले सोही सजाय सदर गरेकोमा सर्बोच्च अदालत पुगेपछि २०७१ माघ ६ गतेको फैसलामा एक हजार जरिवाना कायम गर्दै ३ महिना कैद मिनाह गराएको थियो ।
यो बीचमा २०६७ फागुन १२ गते दैलेख जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्नुअघि होम गर्न बोलाउदा अदालतले आफूहरु बिरुद्ध फैसला गरेको भन्दै दैलेखका ब्राम्हणहरुले होम गर्न अस्वीकार गरेका थिए । अदालतको भवन उद्घाटन गर्दा पनि दैलेख जिल्ला अदालतमा कार्यरत त्यो मुद्दा फैसला गर्ने न्यायाधीश ठाकुरप्रसाद शर्माले नेपाली सेनाको त्यतिबेला भवानी बक्स गणका पूजारीबाट होम गराएका थिए ।
यस पटक दलित अगुवाले दैलेखका पण्डितहरुले दलितहरुलाई रक्षा बन्धनको धागो बाध्दैनन् भन्ने सिकायत गरेको आधारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले ब्राम्हणहरुलाई बोलाएर दलितलाई नबाँधेको भनी आएमा मुद्दा लाग्ने सुझाव दिएको विषयलाई लिएर दलितलाई धागो बान्नु परे कसैलाई बाँध्दैनौं भनी यो वर्षको रक्षा बन्धनको अलवा जिल्लाभर मृत्यू वा विवाह संस्कार समेत कुनै कर्मकाण्डको काम नगर्ने भनी बहिस्कार आन्दोलन गरेका छन् ।

प्रतिक्रिया