एउटै विद्यालयमा ३३ बर्ष अध्यापन

एउटै विद्यालयमा ३३ बर्ष अध्यापन

दैलेख फागुन २७ ।
एउटै विद्यालयमा ३३ बर्ष अध्यापन गराएर अवकास लिएका शिक्षकलाई विद्यालय परिवारले बिदाई गरेको छ । बिद्यालयको स्तरबृद्धि र शैक्षिक विकासका लागि योगदान गरेको भन्दै विद्यालयले शिक्षक बलिराम गिरीलाई विशेष कार्यक्रम गरेर बिदाई गरेको हो । दैलेखको साविक कुसापानी गाविस–४ (हाल भैरवी गाउँपालिका–६) को आदर्श मावी घुम्नेखालीमा विगत ३३ बर्ष देखि अध्यापन गराउँदै आउनुभएका शिक्षक बलिराम गिरीलाई विद्यालयले बिदाई गरेको हो ।
उहाँले सोही विद्यालयमा ३३ बर्ष २ महिना २४ दिन अध्यापन गराउनुभएको हो । वि.स. २०२२ सालमा जन्मिनुभएका गिरीले २०३० सालमा शिशु कक्षा भर्ना भई अध्ययन सुरु गरेका थिए । २०३७ सालमा कक्षा ८ उतिर्ण गरेका गिरीले २०४२ सालमा एस.एल.सी. उर्तिण गरेका थिए । २०४२ मा अस्थायी रुपमा शिक्षक सेवामा प्रवेश गरेका गिरीले २०४५ देखि स्थायी रुपमा निरन्तर एउटै विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो ।
‘लामो समय एउटै विद्यालयमा अध्यापन गरेर बिदाई हुने समयमा गाउँले, बिद्यालय र विद्यार्थीले गरेको सम्मानले ठुलो हौसला थपेको छ,’ शिक्षक गिरीले भन्नुभयो ‘ अबका दिनमा अभिभावकको रुपमा विद्यालयको हितका लागि सधै लागिपर्नेछु ।’ बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर विक, निमित्त प्रधानाध्यापक चक्रपाणी गौतम, प्रकाशचन्द्र शर्मा लगाएतले उहाँले विद्यालयलाई गर्नुभएको योगदानको चर्चा गरेका थिए । बिदाई कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया