‘एन पिस’ अवार्ड विजेता थापालाई बधाई तथा सम्मान

‘एन पिस’ अवार्ड विजेता थापालाई बधाई तथा सम्मान

दैलेख फागुन २८ ।
अन्तराष्ट्रिय ‘एन पिस’ अवार्ड विजेता सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापालाई बधाई ज्ञापन तथा सम्मान गरिएको छ । सोसेकको कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाका कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुले बधाई ज्ञापनसँगै सम्मान गरेका हुन् । दैलेख जिल्लाका सामाजिक अभियान्ता हीरासिंह थापा ‘एन पिस’ अवार्डबाट सम्मानित हुनुभएको थियो । उहाँलाई मार्च ५ गत मंगलवार थाइल्याण्डको बैंककमा आयोजित एक समारोहमा पुरस्कार सहित अवार्ड प्रदान गरिएको थियो ।

जिल्लामा विगत दुई दशक देखि समाज रुपान्तरण, महिला र बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रर्था र बालविवाह न्यूनिकरणका लागि अनवरत रुपमा काम गर्दै आउनुभएका अभियान्ता थापा ‘एन पिस’ अवार्डबाट सम्मानित हुनुभएको हो । विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा उहाँ छानिनु भएको थियो । उहाँ एनपीस अवार्डको ‘क्याम्पेनिङ फर एक्सन’ बाट सम्मानित हुनुभएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मञ्जु कुमारी खण्ड्का, पूर्व अध्यक्ष सिता कुमारी राना, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, उप-कार्यकारी निर्देशक बसन्त श्रेष्ठ , सेभ द चिल्ड्रेनका प्रतिनीधि, संस्थाका विभिन्न परियोजना तथा कार्यक्रममा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । बधाई तथा सम्मान समारोहमा अवार्ड विजेता थापाले आफुले हालसम्म गरेको कार्यहरुको मुल्यांकन गरि अन्तराष्ट्रिय स्तरको अवार्ड पाउँदा आगामी दिनमा थप जिम्मेवारी थपिएको धारणा राख्नुभयो । उहाँले आगामी दिनमा समाज रुपान्तरण, महिला बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रर्था र बालविवाह न्यूनिकरणको क्षेत्रमा थप शसक्त भएर काम गर्ने बताउनुभयो ।
उहाँ साउथ एसिया प्यासिफिक क्षेत्रका देशहरुवाट १ जना छानिने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ बिधामा सम्मानित हुनुभएको थियो ।

उहाँलाई राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक ब्युरोले अवार्डका लागि छानेको थियो । अभियान्ता थापाले बाल विवाह, छाउपडी प्रर्था, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरिति र कुसंस्कार विरुद्ध अभियान चलाउँदै विभेद रहित समाज निर्माणका लागि पर्नुभएको छ । सामाजिक अभियान्ताको रुपमा सक्रिय थापा लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त आवाज उठाउदै आउनुभएको छ ।
२०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय रहनुभएका थापा दैलेखमा समाज रुपान्तरणको संवाहकको रुपमा समेत परिचित हुनुहुन्छ ।

जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको सक्रिय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) को अध्यक्ष समेत रहनुभएका थापा बाल संरक्षण संजाल नेपाल, कर्णाली प्रदेशका संयोजक हुनुहुन्छ । उहाँ जिल्ला समन्वय समिति दैलेखको इन्जिनियर हुनुहुन्छ ।

प्रतिक्रिया