बुहारी ! नो फेसबुक

बुहारी ! नो फेसबुक

-बेलिना थापा-

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ ।

फेसबुकमा के हुँदो रहेछ भन्ने चासो पनि उत्तिकै छ । तर, परिवारबाट फेसबुक चलाउन रोक लागेको छ । परिवारको कुरा काट्न नसकेपछि उनी फेसबुक चलाउँदिनन् ।

‘सबैले फेसबुकको कुरा गर्छन्, चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भनिन्, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’

कपुरगाउँका महिलाहरु

१९ महिनाअघि कामको सिलसिलामा दुबई गएका श्रीमान् फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताइन् । ‘खोई किन हो । फेसबुक चलाउँछु भन्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो ? भन्नुहुन्छ’ कक्षा ८ सम्म अध्ययन गरेकी उनले थपिन् – ‘आफ्नो श्रीमानले भनेको मान्नै पर्यो ।’

उनले फेसबुकमा देशभरका गतिविधि थाहा हुने अरुले बताएको सुनेकी छिन् । कृपालाई पनि के रहेछ बुझ्ने मन छ । तर, बन्देज लगाइएको छ । भन्छिन्, –‘म बुहारी भएकै कारण फेसबुक चलाउन पाउँदिन ।’

कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् ।

सोही गाउँकै आइतकुमारी विकको पनि फेसबुक आइडी छैन । फेसबुक चल्ने एन्ड्रोइड मोबाइल बोकेपनि उनलाई फेसबुक चलाउने अनुमती छैन ।

गाउँका रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर कहिलेकाँही आफ्नो खसखस मेटाउँछिन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँ कि जस्तो लाग्छ’ आइतकुमारीले भनिन्, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’

एक वर्षअघि साउदी अरेविया गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताइन् ।

गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसँग कुराकानीका लागि मोबाइल लिएकी छिन् । उनले पनि गाउँका अरु बुहारीले जस्तै इमोबाट श्रीमानसँग कुरा गर्छिन् ।

कपुरगाउँ

‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । मन भएपछि बुढाले चलाउन दिनुहुन्न’ उनले भनिन्, ‘फेसबुककै कारण कति महिला बिग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै पर्यो ।’

स्थानीय स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका सबैजसो घरका युवा रोजगारीका लागि विदेश गएका छन् ।

कतिका श्रीमती छोराछोरी पढाउन गाउँबाट बजार झरेका छन् । कति गाउँमै छन् । सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन् ।

कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेका छन् । उनले भनिन्–‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’

प्रतिक्रिया