भारतमा उद्धार गरिएका १२ जना महिलालाई विहिवार नेपाल ल्याइने

भारतमा उद्धार गरिएका १२ जना महिलालाई विहिवार नेपाल ल्याइने

काठमाण्डाै । भारतको नयाँदिल्लीमा गएको शनिबार उद्धार गरिएका १२ जना नेपाली महिलालाई भोलि बिहीबार नेपाल ल्याइने भएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा उनीहरुलाई बन्धक बनाएर राखिएको थियो ।

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई कोठा भाडामा लिएर बन्धक बनाएर राखेको जनाइएको छ ।उद्दार गरिएकामध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राती छापामारेर उनीहरुको उद्धार गरेको थियो ।उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिइएको बताइएको छ ।

केआइ नेपालका निर्देशक इन्द्रराज भट्टराइका अनुसार उनीहरुले दलाललाई पासपोर्ट र बीसहजारदेखि दुईलाखसम्म नगद बुझाएका छन् ।उद्धार गरिएका महिलाहरुको घर झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठानमा रहेको छ । उनका अनुसार उद्धार गरिएका महिला २२ देखि ४२ उमेरका छन् ।

निर्देशक भट्टराईका अनुसार उद्धार गरिएका महिलाहरुलाई नेपाल फर्काउन आवश्यक कानून प्रकृया पुरा भएकोले भोलि बिहीबार नेपाल ल्याउने तयारी गरिएको हो ।
–महिला खबर–

प्रतिक्रिया