विपद्‌मा बालबालिका सबैभन्दा धेरै जोखिममा

विपद्‌मा बालबालिका सबैभन्दा धेरै जोखिममा

काठमाडौँ २० चैत- बारा र पर्सामा आइतबार राति आएको हावाहुण्डरीमा मृत्यु हुने २८ मध्ये १० वर्ष मुनिका बालबालिकाको संख्या नै ४ थियो भने १८ वर्ष मुनिका बालबालिकाको संख्या ७ थियो । प्राकृतिक विपद्‌मा सबैभन्दा धेरै जोखिममा बालबालिका पर्ने गरेको यो नै पहिलो घटना भने होइन ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाका अनुसार २०७३ देखि २०७५ को तीन वर्षको अवधिमा मात्रै प्राकृतिक विपद्‌मा परी ३ सय १६ जना बालबालिकाको मृत्यु भएको छ । महाशाखाको तथ्यांकले प्राकृतिक विपद्‌मा बालबालिका सबैभन्दा धेरै जोखिममा परेको देखाउँछ ।
प्राकृतिक विपत्ति नेपालका लागि नियमित आकस्मिकता नै हो । गृह मन्त्रालयको नेपाल डिजास्टर रिस्क रिडक्सन पोर्टलका अनुसार सन् २०१८(१९ मा मात्रै पहिरोमा ८८ जना, आगलागीमा ८७ जना, चट्याङमा परी ७९ जना, हुरीमा ४३ जना र अन्य प्राकृतिक विपत्तिमा ३२ जनाको मृत्यु भएको तथ्यांक छ ।

महाशाखाका अनुसार २०७३ सालमा प्राकृतिक विपत्तिमा ५७ बालक र ५६ बालिकाको मृत्यु भएको थियो भने २०७४ सालमा ५७ बालक र ५१ बालिकाले प्राकृतिक विपत्तिकै कारण ज्यान गुमाएका थिए । २०७५ सालमा पनि ५१ बालक र ४४ बालिकाको मृत्यु प्राकृतिक विपत्तिमा भयो । गृह मन्त्रालयअन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाकी सहसचिव ईन्दु घिमिरे प्राकृतिक विपद्‌मा जहिले पनि महिला र बालबालिका बढी जोखिममा पर्ने गरेको बताइन् । उनले भौतिक संरचनाहरु मात्रै नभई विपद्‌बाट बच्ने तयारी र ज्ञानको अभावमा महिला र बालबालिकाले जीवनकै मूल्य चुकाइरहेको बताइन् । उनले भनिन्, हरेक विपद्‌मा मर्नेहरुको सूचिमा बालबालिका र महिलाहरुको संख्या उल्लेख हुनु हाम्रो यथार्थ जस्तो भइसक्यो । सहसचिव घिमिरेले भनेजस्तै बारामा भएको पछिल्लो विपत्तिमा पनि मृत्यु हुनेहरुमध्ये ११ महिला थिए ।

विपद् व्यवस्थापन महाशाखाबाट प्राप्त २०७३ यताका तीन वर्षे तथ्यांकलाई केलाउँदा सबैभन्दा धेरै पहिरोमा परी बालबालिकाको मृत्यु भएको देखिन्छ । तीन वर्षमा पहिरोमा परी १ सय १४ जना र चट्याङका कारण ६५ जना बालबालिकाको मृत्यु भएको देखिन्छ । त्यस्तै आगलागीमा ५७ जना बालबालिकाले ज्यान गुमाएका छन् । जबकी तीन वर्षमा हावाहुरीका कारण ४ जना बालबालिकाले मात्रै ज्यान गुमाएका देखिन्छ । कान्तिपुर ।

प्रतिक्रिया