स्वास्थ्यमा समायोजन हुन अझै दुई महिना लाग्ने

स्वास्थ्यमा समायोजन हुन अझै दुई महिना लाग्ने

काठमाडौँ, असार ६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन टुङ्ग्याएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाए पनि तत्काल समायोजनको पत्र नपाउने भएका छन् । 
केही दिनअघि सामान्य प्रशासन मन्त्रालयले समायोजनसम्बन्धी पत्र पठाएपछि स्वास्थ्य मातहतका कर्मचारीलाई समायोजनको पत्र दिने भनिएको थियो तर पत्र पाउन अझै  दुई महिना लाग्ने बताइएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयबाट आएको समायोजनमा केही त्रुटि रहेकाले कर्मचारीको हातमा पत्र पुग्न अझै दुई महिना लाग्नसक्ने जानकारी दिनुभयो । उहाँले सामान्य प्रशासनबाट आएको पत्रमा केही कर्मचारीले माग गरेको ठाउँमा समायोजन भए पनि केहीको भने मागेको भन्दा अन्यत्र समायोजन भएको जानकारी दिनुभयो । 
‘झण्डै आठ हजार कर्मचारीको समायोजन सच्याउन समय लाग्ने भएकाले तत्काललाई कर्मचारी जुन ठाउँमा काम गरिरहेका छन् त्यही ठाउँमा रहेर काम गर्नुपर्नेछ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो । 
‘हामीले भोलिका दिनमा मुद्दा नपर्ने गरी मिलाउन लागेका छौँ’, श्रेष्ठले थप्नुभयो, “सकभर सबैलाई मिलाएरै समायोजनको पत्र दिने छौँ । ” 
राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालका अध्यक्ष भक्तिमान सुब्बाले पनि सरकारले गरेको समायोजनमा व्यापक त्रुटि रहेको बताउनुभयो । सरकारले प्रदेश, स्थानीय तह र सङ्घमा समायोजन हुन जुन मापदण्ड बनाएको थियो उक्त मापदण्ड अनुसार समायोजन हुन नसक्दा ठूलो समस्या उत्पन्न भएको उहाँले जानकारी दिनुभयो । समायोजनमा ज्येष्ठता नहेरिएको, क्यान्सर, मिर्गौला, मुटुरोगीको समस्या समाधान हुन नसकेको, समायोजनको सफ्टवेयरले श्रीमानश्रीमती चिन्न नसकेको, समायोजनका लागि माग गरिएको जिल्ला र क्षेत्रसमेत परिवर्तन गरेर समायोजन गरिएकाले स्वास्थ्यकर्मीले समायोजन स्वीकार्न नसकेको पनि उहाँले बताउनुभयो । अध्यक्ष सुब्बाका अनुसार समायोजन ढिलाइ हुँदा कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तनाव उत्पन्न भएको, समायोजन हुन नसक्दा कतिपय कार्यक्रम रोकिन पुगेको छ । 
मन्त्रालयका प्रवक्ता श्रेष्ठले पनि कर्मचारीलाई यथास्थितिमा काम गर्न मन नलाग्ने, कहाँ परिने हो भन्ने भय रहेको र यसैले गर्दा स्वास्थ्य क्षेत्रका धेरै कार्यक्रम प्रभावित भएको बताउनुभयो । उहाँले समायोजनको सूचीमध्ये केहीमा पुनः समस्या देखिएपछि ती समस्या समाधान गरेपछि मात्र कर्मचारीलाई पत्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । 
स्वास्थ्यमा २७ हजार ३०३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो । उक्त सूचीमा त्रुटि भएको भन्दै आठ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए । सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो ।

प्रतिक्रिया