‘ढोका नथुनी’ पढेरै लोकसेवामा एक नम्बर

‘ढोका नथुनी’ पढेरै लोकसेवामा एक नम्बर

नामः सरिना रेग्मी
उमेरः २२ वर्ष
तहः छैटौं अधिकृत
सेवाः नेपाल न्याय सेवा (खुला)

० ० ०
यतिमात्रै त असामान्य होइन सायद । २२ वर्षको उमेरमा खोज्दै जाँदा निजामति सेवाको अधिकृतमा अरु महिला पनि प्रवेश गरेका होलान् । तर, उनको नाम २५१ जनामा एक नम्बरमा निस्कियो । प्रतिस्पर्धी १६ सय थिए । यतिमात्रै पनि होइन, सरिनाले लोकसेवा आयोगको परीक्षा पहिलोपटक दिएकी हुन् । कर्म र भाग्य सायद दुवैले साथ दिए । दोहोर्याएर रट्नु परेन । र, दोस्रोपटक परीक्षा पनि दिनु परेन । 

सरिना लोकसेवाको तयारी कक्षामा पनि गइनन् । घरमै बसेर पढिन्, त्यो पनि निकै छोटो समय ।

तीन महिना अगाडि लोकसेवा आयोगले न्याय सेवातर्फ २५१ जना अधिकृत माग्दै ‘गोरखापत्र’मा सूचना निकाल्यो । एलएलबीको परीक्षा भर्खर सकिएको थियो । शोधपत्र लेख्नै बाँकी थियो । लोकसेवामा फर्म भर्ने अन्तिम म्यादसम्म शोधपत्र लेखेर कलेजलाई बुझाएर त्यसको नतिजा हात लाग्छ कि लाग्दैन ? मनमा प्रश्न जन्मियो । अर्थात् फर्म भर्नका लागि उनलाई स्नातकोत्तर तह उत्तीर्ण गरेको सर्टिफिकेट चाहिन्थ्यो । बुझिन् कलेजमा । कलेजले सम्भावना छ भन्यो । शोधपत्र सकिन् । नभन्दै अन्तिम दोस्रो दिन उनले अधिकृतमा फर्म भरिन् । 

सरिना स्कुलकी एभरेज विद्यार्थी । ए लेभलले उनलाई ग्रिन सिग्नल दिएको थियो अब्रोड स्टडीका लागि । अधिकांश साथीहरु अमेरिका, अस्ट्रेलिया उडे । सरिनालाई भने विदेश मोहले छोएन । ‘काठमाडौं स्कुल अफ ल’ मा एलएलबी भर्ना भएकी थिइन् ।

विद्यालयदेखि नै उनको पढाईमा खासै त्यस्तो कुनै तौर तरिका पनि थिएन । कलेज पुग्दा पनि उनले साथीहरुले जस्तो रातरात बसेर पढिनन् । “राति अबेरसम्म बसेर पढ्ने मेरो बानी छैन । बिहान भने उज्यालो हुनु केही अगाडि उठेर पढ्छु,” सरिना भन्छिन्, “आयोग पनि मैले रातरात बिताएर पढिन । जसरी अरुबेला पढ्थेँ त्यसरी नै पढेकी हुँ ।”

सरिनासँग पढ्नलाई मुस्किलले तीन महिना समय थियो । कोर्स अफ स्टडी हेर्दा दुईटा पेपर कलेजमा पढेकै विषय थियो । त्यसैले खासै गाह्रो छ जस्तो लागेन । तर फरक थियो । त्यसले मनमा संशय खडा गरिदिएको थियो । 

जसरी भए पनि पास गर्नैपर्छ भन्ने दबाब थिएन । पहिलोपटक नै उत्तीर्ण हुनुपर्छ भन्ने कसैले दबाब पनि दिएको थिएन । त्यसैले उनले ‘रिल्याक्स’मै पढिन् । “तर स्कुलदेखिकै बानी हो भोलि के पढ्ने अघिल्लो दिन नै टिक (चिन्ह) लगाएर पढ्ने । मैले पढ्छु भनेर टिक लगाएको कुराचाहिँ म पढिसकेर मात्रै ब्रेक लिन्थेँ ।”

घरका आमा मञ्जु खतिवडा राष्ट्रिय मानव अधिकार आयोगकी डेपुटी डाइरेक्टर (सहसचिव), बुवा राजन रेग्मी सेक्सन अफिसर । त्यसैले घरमा पढ्ने वातावरण भने थियो ।

“परीक्षा दिएपछि के गर्ने ? समय खाली थियो । ठीक त्यही समयमा हामीले पत्रिकामा विज्ञापन देख्यौं । त्यो ट्रान्जिशनल पिरियडमा पढौं न त भनेर मात्रै उसले फर्म भरेकी हो,” सरिनाको छेउमै रहेकी उनकी आमा मञ्जुले भनिन्, “लोकसेवा दिएर सिभिल सर्भिसमा जान्छु भनेर प्रि–प्लान गरेर पढेको होइन । वकिल बन्छु भनेर चाहिँ भन्थी ।”

आमालाई सहज बनाउँदै सरिना भन्छिन्, “मलाई घरमा यो गर् त्यो गर् भन्ने प्रेसर छैन, फ्रिडम छ । म साथीहरुजस्तै पढ्न विदेश जान्छु भनेको भए पनि मलाई पठाउनु हुन्थ्यो ।” छेउमै रहेकी आमा मञ्जुले टाउको हल्लाइन्– “उसले भनेको भए हामी उसलाई बाहिर जान रोक्दैनथ्यौं । नयाँ विषयमा डिग्री लिन विदेश जानु पनि पर्छ । तर हाम्रो योङ जेनेरेसन सबै विदेशमै जानुपर्छ भन्ने प्रवृत्तिका हामी विरोधी हौं । नेपालमै बसेर केही गरोस् भन्ने हाम्रो चाहना थियो । नभन्दै उसले बाहिर जान्छु भनिन ।”

लिखित परीक्षा भयो । सरिनालाई आफूले राम्रै लेखेजस्तो लागेको थियो । मञ्जु भन्थिन्, “हाम्रोमा ११ पटक आयोग भिडेर आएका कर्मचारी पनि मैले देखेकी छु । सजिलो छैन ।” 
सरिना अतीत सम्झिन्छिन्, “फेरि उहाँ नै तेरो पढाई, आत्मविश्वास र नलेज देख्दा पास हुन्छेस्, चिन्ता नगर्  भन्नुहुन्थ्यो ।”

आमाको दुईथरी कुराले सरिनाको मन उद्धेलित बनाइदिन्थ्यो । छटपटी हुन्थ्यो । 

गएको जेठ चार गते नतिजा आएको सरिनाले सूचना पाइन् । मुटुको चाल बढ्यो । नतिजा हेर्नसक्ने आँट आएन । आमालाई बोलाएर हेरिदिन भनिन् । मञ्जुले आयोगको वेबसाइट खोलिन् । सरिना पनि आइन् । मञ्जुले वेबसाइट खोलेर सुरुमै स्क्रोल गरेर बीचमा पुर्याइन् । नाम खोज्दै गए, खोज्दै गए तर भेटिएन । कतै छुट्यो कि भनेर फेरि मञ्जुले स्क्रोल गरेर माथि ल्याइन् । “माथि त पक्कै छैन भनेर हामीले सुरुमै बीचतिरबाट हेर्यौं,” मञ्जु अपत्यारिलो सफलताको कथा सुनाउँछिन्, “जब हामी शुरुमा आइपुग्यौं । नाम देखियो सरिना रेग्मी । हामी जति खुसी भयौं त्यति नै विश्वास पनि लागेन ।”

मञ्जु बोल्दाबोल्दै सरिना उनलाई उछिन्छन्, “मलाई मै सरिना हो र ? भन्ने शंका लाग्यो । ममीबाबाकै नाम थिएन । निस्किए पनि एक नम्बरमा त कसरी निस्कियो होला र ? न लोकसेवाको कक्षा लिएको न अगाडि परीक्षा दिएको अनुभव । ममीले प्रवेशपत्र ले त भन्नुभयो । रोल नम्बर ट्याली गर्यौं । एउटै नम्बर थियो १३१९२७ दुवैमा । बल्ल विश्वास भयो ।” छाती फोडेर बाहिर निस्किएला जस्तो भएको मुटुको चाल बल्ल कम भयो । अनि सुरु भयो सेलिब्रेसन । मञ्जु अझै पनि भन्थिन्, “सरिना तेरै नाम निस्किएको हो नि ?”

“सरिना पास त हुन्छे जस्तो लागेको थियो । तर एक नम्बरमा त्यो पनि खुलामा चाहिँ निस्किएला भन्ने सोचेकै थिइन,” छोरीको सफलताको कथा सुनाउँदा मञ्जुको मुहार पनि चम्किलो हुन्छ । उनी आफ्नो प्रसंग पनि सुनाउँछिन्, “०७२ सालमा मैले पनि शाखा अधिकृतमा एक नम्बरमा नाम निकालेको थिएँ । भर्खरै सहसचिव र उपसचिवमा परीक्षा दिँदा दुईटैमा लिखितमा एक नम्बरमा निस्किएको थियो । पछि अन्तर्वार्तामा सहसचिवमा निस्कियो । उसको पढाइको भोलुम हेर्दा टप टेनमा चाहिँ निस्किन्छ कि जस्तो लागेको थियो ।” सरिनासँगै कम्बाइन स्टडी गर्ने पनि उनीसँगै पास भइन् । त्यसो त उनीसँगै कलेजमा पढेका ११ जना ब्याचमेट पास भए । 

सरिना अलिकति अगाडि फर्किइन् र अन्तर्वार्ताको प्रसंग पनि सम्झिइन्, “म लेख्न सकेपनि अरुको अगाडि बोल्न धक मान्ने, आत्तिने मान्छे । त्यसैले मलाई डर लागेको थियो । अन्तिममा मेरो पालो परेको थियो । खुब डर लागिरहेको थियो । अन्तर्वार्ता दिने साथीहरु विभिन्न कुराहरु सुनाइरहेका थिए । तीन जना हुनुहुन्थ्यो । एक जना त आयोगको अध्यक्ष उमेशप्रसाद मैनाली नै हुनुहुँदोरहेछ । उहाँले सुरुमै फन्डामेन्टल राइट्स र ह्युमेन राइट्समा के फरक छ भनेर सोध्नुभयो । हामीले सुरुदेखि नै पढेको त्यो पनि कानुनको बेसिक कुरा भएकाले मलाई सजिलो भयो । पहिलो प्रश्न नै सजिलो परेपछि आत्मविश्वास बढ्यो । सायद पहिलो प्रश्न गाह्रो परेको भए डर लाग्थ्यो होला ।”

सरिनालाई न मञ्जुले कहिल्यै यो बन्नुपर्छ भनिन् न त राजनले नै तिम्रो लक्ष्य यो हुनुपर्छ भनेर भने । त्यसैले उनी स्वतन्त्र थिइन् आफ्नो भविष्यका बाटो पहिल्याउन । ठ्याक्कै यही चलचित्र त भन्ने छैन तर चलचित्रमा वकिलले बहस गरेको देखेर सरिनालाई इष्र्या लाग्यो । ओहो ! कस्तो राम्रो ? कक्षा सातमै पढ्दा हेरेको त्यो चलचित्रले उनको भविष्यको उद्देश्य बोकाइदियो, वकिल हुन्छु भन्ने । साथीहरु डाक्टर पाइलट बन्छु भन्दै हिँड्थे । सरिना वकिल बन्छु भन्थिन् । तर, त्यो नै मेरो उनको एकमात्रै लक्ष्य भन्ने थिएन । मात्रै बन्छु भन्ने थियो । ‘पिङ्क’मा अमिताभ बचनले निभाएको वकिलको भूमिकाले उनलाई तान्यो । पटक पटक दोहोर्याएर हेरिन् । त्यसले पनि उनलाई लोभ्याएको थियो ।

वकिल बन्ने चाहनालाई एक्कासी दिएको लोकसेवाको परीक्षा र नतिजाले थाँती राखिदियो । बाटो परिवर्तन गरिदियो । एक नम्बरमा नाम निस्किएको थियो । कहाँ काम गर्ने रोज्ने पहिलो अधिकार उनकै थियो । कानुन मन्त्रालय रोजिन् । शुक्रबार जिन्दगीमा पहिलोपटक नयाँ अनुभव गरिन्, जागिरको । बाह्रखरीबाट साभार

 

प्रतिक्रिया