छोरीको बिहे गर्ने उमेर

छोरीको बिहे गर्ने उमेर

कुमारी लामा

हालै म दुइटा वैवाहिक समारोहमा सामेल भएँ । दुलहीहरूमध्ये एउटी बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन् भने अर्की १२ कक्षा मात्रै भ्याएकी । दुवै पढालेखा र हुनेखाने घरका । कलिलै उमेरमा किन बिहे गरिदिएका होलान् भन्ने खुलदुली भइरह्यो मलाई । कुरो बुझ्दा, एउटीका दुलाहा युके आईडीवाला र अर्कीका चाहिँ सरकारी जागिरे रहेछन् ।

दुवैका अभिभावकले छोरीका लागि आएको राम्रो प्रस्तावलाई उम्काउन चाहेनन् । त्यसैले पढाइ नै पूरा नभएका छोरीहरूको ‘सुनिश्चित र सुरक्षित भविष्य’ का खातिर विवाह गरिदिएको प्रस्ट बुझियो ।
यी प्रतिनिधि उदाहरण मात्रै हुन् । हाम्रो समाजमा उनीहरूजस्तै धेरै कलिला युवती पढाइ र भविष्यको लक्ष्यलाई कुनातिर थन्क्याएर अन्मिरहेकै छन् । अहिले पनि बाबुआमाले ‘राम्रो प्रस्ताव’ आउनेबित्तिकै छोरी अन्माउन तम्सिहाल्छन्, मानौं त्यो प्रस्ताव उम्किए अरू राम्रो केटै पाउँदैनन् । खासमा प्रत्येक परिवार छोरीको भविष्य सुरक्षित होओस् भन्ने चाहन्छन् । तर पढाइ पूरै नगरी, आफ्ना खुट्टामा नउभिई अर्काको घर पुग्ने छोरीहरूको भविष्य कति सुरक्षित होला ?
वैश्विक नागरिक भएको दाबी गर्छौं हामी । नाफाखोर बहुराष्ट्रिय कम्पनीको पछिल्लो उत्पादन उपभोग गर्न पाउँदा खुब गजक्क पर्छौं । औंलामा नचाइरहेका छौं, वैश्विक घटनाहरूको अपडेट पनि । मानसिकता भने उही पुरातन ! छोरीहरू आफै गरिखान सक्छन् भनी विश्वास गर्न हामीलाई अझै पनि मुस्किल छ । उचित शिक्षा, अवसर र परिवारको सहयोग भएछोरीहरू आफ्नो भविष्य आफै सुरक्षितपार्न सक्छन् ।
अलि हुर्किनेबित्तिकै छोरीलाई अर्काको जिम्मा लगाइहाल्ने चलन निकै पढालेखा र समृद्ध परिवारहरूमा छ । समय थोरै फेरिए जस्तो लाग्छ, छोरीहरू धमाधम विदेश पढ्न गएका पनि छन्, तर विदेशै पनि एक्लैभन्दा सकेसम्म लगनगाँठो कसेरै पठाइदिने गर्छन् । अझ सबैभन्दा सजिलो त अमेरिका, अस्ट्रेलिया या युरोपतिर सेटल भएका केटाहरूसँग बिहे गरिदिनु नै हुन्छ । त्यसो गर्दा छोरीको ‘भविष्य पनि सुरक्षित,’ विदेश पठाउन ठूलो आर्थिक लगानी पनि गर्न नपर्ने ! मध्यमवर्गीय नेपाली परिवार छोरीका लागि ठूलो धनराशि लगानी गर्न अझ पनि हच्किन्छ ।
त्यसको फल भविष्यमा अर्कै परिवारले खान्छ नि त ! यस्तै अनेक सामाजिक मूल्य–मान्यता र मानसिकताहरूको जन्जालमा जकडिएको छ, नेपाली समाज । यसो हुनुमा उही फ्रेमभित्र लामो कालखण्डदेखि चलिरहेको हाम्रो समाज र त्यसैबाट निर्मित विशेष मनोविज्ञानले भूमिका खेलेको देखिन्छ । आर्थिक रूपले सम्पन्न र सेटल भएका केटाहरूको जिम्मा लाउँदैमा हाम्रा छोरीहरूको भविष्य सुरक्षित हुन्छ त ? नहुने रहेछ ।
छिमेककै एउटी बहिनीका लागि ‘राम्रो परिवार’ बाट प्रस्ताव आएछ । काठमाडौंको ‘प्राइम लोकेसन’ मा घरजग्गा भएको, जागिरे । बस, यत्ति भए पुगिहाल्यो केटी पक्षलाई । स्नातक पढ्दै गरेकी निकै फुक्काफाल बहिनीले अनेक सपना साँचेकी थिइन् सायद । तर, उनले नचाहँदा–नचाहँदै इन्गेजमेन्ट भयो । विवाहको मिति केही समयपछिका लागि तोकियो ।
उनीहरूको भेटघाट हुन थाल्यो । संगत गर्दै जाँदा ती बहिनीले हुनेवाला श्रीमान्लाई आफूले सोचेभन्दा विपरीत स्वभावको पाइन् । अभिभावकका अघि उनले विवाह नगर्ने कुरो गरिन्, तर ‘इज्जत’ को कुराउठ्यो । अभिभावकको रुवाबासी चल्यो । उनी सोच बदल्न बाध्य भइन् । अन्ततः परिवारले उनलाई अन्मायो । पछि परिणाम उनले लख काटेजस्तै भयो । उनी हिंसाको सिकार भइन् । बच्चा भइसक्दा पनि मतभेद सुल्झिने छाँट देखिएन ।
केही नलागेपछि सम्बन्ध विच्छेदको तहमा पुग्यो उनीहरूको झगडा । अब यी बाउआमाको विवादमा बिचरा त्यो नाबालकले सजाय पाउँदै छ । बाउआमाको सम्बन्ध विच्छेदबाट सन्तानमा पर्ने आघात अर्को संवेदनशील विषय हो । ‘इज्जतका खातिर’ छोरीलाई कुलघरानामा जबर्जस्ती बिहे गरिपठाउने ती अभिभावक पनि अहिले तनाव झेलिरहेका छन् । अब न परिवारको ‘इज्जत’रह्यो, न छोरीको ‘सुनिश्चित भविष्य’ नै !
हामी नाक जोगाउने धुनमा निकै ठूलो सम्भावित दुर्घटनालाई अन्देखा गरिदिन्छौं र अन्ततः गहिरो खाल्डोमा जाकिन्छौं । त्यस बेला न नाक रहन्छ, न छोरीको सुखी परिवार । कतिपय जोडी भने परिवारको इज्जतकै खातिर पारपाचुके नगरी जीवनभर निकै तनाव र बेमेल जीवन बाँचिरहेका पनि देखिन्छन् ।
अर्कातिर, पढाइ सकेपछि मात्र बिहे गर्ने अडानमा बसेका कतिपय छोरीहरूलाई केटा पक्षबाट बिहेपछि पनि पढ्न वातावरण दिने आश्वासन दिइन्छ । तर बोलीजस्तो व्यवहार कहाँ हुनु ? घरपरिवारको उचित सहयोग नपाउँदा छोरीहरूले पढ्न चाहेर पनि सक्दैनन् । अन्ततः उनीहरू केटाकेटी हुर्काउँदै गृहिणी भई थन्किन पुग्छन् ।
उनीहरू असल गृहिणी र जिम्मेवारआमा त बन्छन्, तर आर्थिक रूपमा सधैं श्रीमान्कै भर पर्न विवश हुन्छन् । लोग्नेको खटनपटन, हेलाहोचोमा पर्ने सम्भावना बढ्छ । हामीले भुल्न हुन्न, आर्थिक स्वतन्त्रतासँग जीवनका धेरै पक्ष जोडिएका छन्, जस्तो— महिलाको अस्तित्व, आत्मनिर्भरता स्वतन्त्रता, परिवारभित्रको निर्णयमा अधिकार ।
नेपाली समाजले शिक्षा, सञ्चार, प्रविधि लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । यति भइसक्दा पनि राज्य संयन्त्रका उच्च ओहदामा पुरुष नै बढी छन् । नीति, नियम र योजना बनाउने, निर्णय लिने, कार्यान्वयन गर्ने जस्ता प्रमुख ठाउँ पुरुषले नै ओगटेका छन् । महिला भने अह्राएपह्राएको काम गर्ने, खटनपटन सम्हाल्ने जिम्मामै बढी छन् । यसो भइरहनुमा हामी नै जिम्मेवार छौं ।
हामी छोरीहरूलाई सक्षम र आत्मर्निभर बनाउनेभन्दा ‘सेटल्ड’ केटाकोजिम्मा लाउने सपना बुनिबस्छौं । आवश्यकपढाइ र आत्मनिर्भर नभई विवाह हुनुले अझै बहुसंख्यक महिला घरधन्दा र चुलोचौकोमै सीमित हुन बाध्य छन् । पारिवारिक जिम्मेवारी, बालबच्चाको लालनपालन आदि–इत्यादिमा लाग्दालाग्दै उनीहरूको पढाइ, लक्ष्य र आकांक्षाहरू अलपत्र परिसक्छन् । kantipur.

प्रतिक्रिया