कर्णालीका १० विद्यालय नमुना छनोट

कर्णालीका १० विद्यालय नमुना छनोट

दैलेख- कर्णाली प्रदेशका १० वटा सामुदायिक विद्यालय नमुनाको लागि छनौट भएका छन् । शिक्षा विकास तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास योजना २०७३-०७४ देखि २०७९-२०८० सम्ममा मुलुकभर एक हजार नमुना विद्यालय विकास गर्ने लक्ष्य लिएकोमा कर्णालीका १० वटा परेका हुन् । 
२०७३ देखि हालसम्म मुलुकभर दुई सय २२ वटा विद्यालयहरू छनौट भई गुरुयोजनासहित नमुना विद्यालय विकासका क्रममा रहेका छन् । स्थानीय तहगत रुपमा छनोट हुने गरी आवेदन दिएका ६९ जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा सञ्चालित विद्यालयहरूको प्रारम्भिक मूल्याङ्कनपछि विद्यालय छनौट भएका हुन् । छनोटमा परेका विद्यालयहरूले नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७४ पहिलो संशोधन, २०७५ अनुसार आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको छ । 
कर्णालीबाट छनोटमा परेका विद्यालयमा जुम्लाको नेत्र ज्योती मावि हाँकु, डोल्पाको अन्नपूर्ण मावि मुड्केचुला, कालिकोटको बडिमालिका मावि रास्कोट, मुगुको महादेवमस्टा मावि खत्याड, हुम्लाको मानसरोवर मावि सिमीकोट, सुर्खेतको जीवनज्योती मावि दशरथपुर, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका हाडाकोटस्थित चामुण्डा मावि, पश्चिम रुकुमको हिमालय मावि चौरजाहरी, सल्यानको जनता मावि त्रिवेणी गाउँपालिका र जाजरकोटको जनता मावि दसेरा छन् ।

प्रतिक्रिया