‘तपाईंको अभिव्यक्तिले हामी कसरी सुरक्षित हुन्छौं ?’

‘तपाईंको अभिव्यक्तिले हामी कसरी सुरक्षित हुन्छौं ?’

काठमाडौं साउन १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति सांसदले आपत्ति जनाएका छन्। केही दिनअघि गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको विषयमा दिएको प्रतिक्रियाप्रति सांसदले आपत्ति जनाएका हुन्।

राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद्ले हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।निर्मलाको हत्या हुँदा कञ्चनपुरको प्रहरी प्रमुख रहेका निलम्बित एसपी डिल्लीराज विष्टकै भाषा गृहमन्त्रीले बोलेको भन्दै सांसद आपत्ति जनाएका हुन्।

निलम्बित एसपी विष्टले निर्मलाको हत्यारा दिलिपसिंह विष्ट नै भएको दाबी गरेका थिए। ‘गृहमन्त्रीले पनि केही दिनअघि निर्मला प्रकरण जस्तो घटना हिजो पनि हुन्थे, आज पनि हुन्छन् र भोलि पनि हुनेछन् भन्दै प्रतिक्रिया दिनुभयो’, सांसद डिला संग्रौलाले भनिन्, ‘हिजो एक बैठकमा गृहमन्त्रीले पनि घटनालाई जोडेर दिलिपसि‌ंह विष्टलाई नै अपराधी बनाउनुभयो।’

अनुसन्धान प्रक्रियामै रहेको विषयमा गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक रहेको उनको भनाइ छ। ‘अनुसन्धानमा रहेको घटनालाई गृहमन्त्रीले यसरी बोल्न मिल्छ ?’, उनले भनिन्, ‘कानुन आफ्नो हातमा लिएर गृहमन्त्रीले यसरी बोल्दा हामी कसरी सुरक्षित हुन्छौं ? निर्मलाजस्ता हजारौं बलात्कृत हुन्छन्।’

सत्तारुढ नेकपाका सांसद्ले भने अर्को विषमा छलफल गर्न बोलाइएको बैठकमा यी विषय प्रवेश गराइएको प्रति आपत्ति जनाए। ‘यी विषयका लागि छलफल गर्न वार्षिक समीक्षा बैठक नै राखौं’, नेकपा सांसद् जनार्दन शर्माले भने।

प्रतिक्रिया