न्यायको माग

न्यायको माग

हिक्मतबहादुर नेपाली
दैलेख साउन २७ । तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार डेकेन्द्रराज थापाको अपहरण पनि गरिएका हत्याका मुख्य दोषीलाई पक्राउ नगरिएको दैलेखका पत्रकारहरुले गुनासो गरेका छन् । स्वर्गीय पत्रकार थापाको १५ औँ स्मृती दिवसका अबसरमा सभामा पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् । पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ नपरेको भन्दै पत्रकारहरुले आपत्ती जनाएका छन् ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले पत्रकार थापाको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरे । नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले हत्या भएको १५ बर्षसम्म पनि दोषीलाई पक्राउ गरि कानुनी कार्बाही नहुनु दुभाग्र्य भएको बताइन् । उनले स्वर्गीय पत्रकार थापाको नाममा नारायण नगरपालिकाले स्मृति कोष स्थापना गर्ने घोषणा गरिन् ।

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले परिवारले हत्यामा संलग्नलाई कार्बाहीको माग गर्दै निवेदन दिएको ११ बर्ष बितिसक्दा समेत न्याय नपाउनुमा राज्यनै दोषी रहेको बताए । पत्रकार अमर सुनारले पत्रकारितासँगै सामाजिक क्षेत्रमा सक्रिय रहेको सम्झना गर्दै पत्रकार थापाले आम नागरिकको पक्षमा कल्याणकारी काम गरेको बताए ।
पत्रकार थापाको हत्या गरेको भन्दै जिल्ला अदालत दैलेखबाट दोषी ठहर भएका बमबहादुर खड्का ‘मुक्ति’, बमबहादुर खड्का ‘अरुण’, केशव खड्का र भक्तिराम लामिछाने फरार छन् । अपहरणपछि हत्या गरिएका पत्रकार थापाको हत्यामा संलग्न रहेका उनीहरु हालसम्म पक्राउ पर्न सकेको छैनन् ।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै नौ जनालाई दोषी ठहर गरेको थियो । अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई/दुई वर्ष, लक्षिराम घर्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन् ।
तत्कालीन माओवादीले दैलेख बजारमा आपूर्ति हुने खानेपानीको पाइपलाइन काटेर अवरोध र्पुयाएपछि वार्ताका लागि गएकै बेला पत्रकार थापा अपहरणमा परेका थिए । त्यसपछि उनलाई विभिन्न ठाउँ घुमाउँदै एक महिनापछि जिल्लाकै द्धारी भन्ने स्थानमा हत्या गरिएको थियो । १५ औँ स्मृति दिवसको अबसरमा पत्रकार महासंघ दैलेखको अगुवाईमा सोमवार दैलेखको गणेशचोकबाट सुरु भएको प्रभातफेरी डेकेन्द्रचोक पुगेर सकिएको थियो ।

प्रतिक्रिया