एकल महिलाले झैँ एकल पुरुषले पनि अब भत्ता पाउने !
मेलम्ची, असोज १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’ अध्यक्ष शेर्पाले भने । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ ।
गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए ।
वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो ।
हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया