दैलेखमा कबर्ड हलको शिल्यान्यास

दैलेखमा कबर्ड हलको शिल्यान्यास

हिक्मतबहादुर नेपाली
दैलेख कात्तिक २० गते ।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले दैलेखमा कबर्ड हल निर्माण थालेको छ । जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका–१ छात्राबासमा निर्माण हुने हलको बुधवार शिल्यान्यास गरिएको हो । प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाले कबर्ड हलको शिल्यान्यास गरेका हुन् ।
विभागको भ्याटबाहेक ४ करोड ३६ लाख २० हजार रुपैयाँको लागतमा कर्णाली प्रदेशकै ठुलो र सुविधा सम्पन्न कबर्ड हल बन्ने भएको हो । कबर्ड हल त्रिभुवन माध्यामिक विद्यालयको खाली जग्गामा निर्माण गरिनेछ । कबर्ड हल निर्माणको जिम्मा थेगिम, जीटि जेभी कम्पनी सुर्खेतले पाएको छ । कम्पनीले आगामी भदौमा काम सम्पन्न गर्ने गरि भ्याट बाहेक ३ करोड २७ लाख ५ हजार रुपैयाँमा ठेक्का लिएको हो ।

३८ मिटर लम्बाई र २२ मिटर चौडाईमा बन्न लागेको कबर्ड हलमा इन्डोर खेलहरु खेल्न मिल्ने नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । कबर्ड हलमा ब्याटमिन्टन, बक्सिङ, कराँते, तेक्वान्दो, भलिबलका लागि सुविधासम्पन्न कोर्ट निर्माण गरिनेछ । दैलेखमा प्रदेशकै अत्याधुनिक र सुविधासम्पन्न कबर्ड हल बन्ने भएपछि यहाँका खेलाडी र खेलकुद प्रेमी खुसी भएका छन् ।

कबर्ड हल शिल्यान्यास गर्दै प्रतिनीधि सभा सदस्य बुढाले दैलेखमा खेलकुदको ठुलो सम्भावना रहेको बताउँदै अब जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे । उक्त समारोहमा प्रतिनीधि सभा सदस्य पार्वती विशुन्के, कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, विद्यार्थी, सुरक्षा निकायका प्रतिनीधिहरु पनि उपस्थित थिए ।

प्रतिक्रिया