नेपाल एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक, आज माल्दिभ्ससँग फाइनल खेल्दै

नेपाल एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक, आज माल्दिभ्ससँग फाइनल खेल्दै

एजेन्सी । नेपाली महिला भलिबल ऐतिहासिक उपलब्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा भइरहेको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक पुगेको हो । नेपालले बिहीबार माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ ।

नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् ।

राउण्ड रोविन लिग अनुसार बुधबार नेपालले माल्दिभ्सलाई समूह चरणमा ३–० को सोझो सेटमा पराजित गरी प्रतियोगितामा अपराजित टिमको रुपमा फाइनल पुगेको हो । नेपालले सबै खेलमा ३–० कै सेटमा नतिजा आत्मसाथ गरेको छ ।

नेपाली महिला भलिबल टिम २०१४ मा काठमाण्डौमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो भएको थियो । बिहीबार नेपाल विजयी भए स्वर्ण पदक हात पार्ने छ । २०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए ।

प्रतियोगितामा भारत र श्रीलंका सहभागी छैनन् । समूह चरणमा माल्दिभ्समाथि सहज जित हात पारेकाले नेपाली टिम उपाधिको सबैभन्दा ठूलो दाबेदार टिम हो ।

नेपाली टिम मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि रहेको छ । थाइल्याण्डमा वैदेशिक प्रशिक्षण गरेर सेन्ट्रल जोन खेल्न आएको नेपाली टिमले सिकेका कुराहरु लागू गरेको प्रशिक्षक जगदीश भट्टले बताए । उनले यो प्रतियोगिताले सागमा थप फाइदा पुग्ने उल्लेख गरे ।

नेपालले माल्दिभ्समाथि बुधबार समूह चरणको अन्तिम खेलमा पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेट २५–५ र २५–१३ ले जितेको थियो । नेपाल र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुने छ।

प्रतिक्रिया