बालबालिकामा मानसिक समस्या
काठमाडौँ मंसिर १ – उद्धार गरिएका बाल मजदुरमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्स कलेजले गरेको अध्ययनले सो तथ्य फेला पारेको हो।
बाल मजदुरलाई उद्धार गरी पुनस्र्थापना गरिरहेका उपत्यकाभित्रका आठ वटा संस्थाका एक सय तीन बालबालिकामाथि सो अध्ययन गरिएको थियो। अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माका अनुसार त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुव्र्यवहार भोगिरहेका छन्। शर्मा भन्छन्, ‘मानसिक समस्या बेहोरिरहेका ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ। आत्तिने, डराउनेजस्ता समस्या उनीहरूमा देखिन्छ।’
उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकाले तीनभन्दा बढी प्रकारका दुव्र्यवहार भोगेको अध्ययनले देखाएको छ। त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, बेवास्तालगायतका दुव्र्यवहार भोग्नुपरेको थियो। अध्ययनमा १२ देखि १८ वर्ष उमेरसमूहलाई सहभागी गराइएको थियो।
अध्ययनअनुसार ९.७ प्रतिशतमा सधैंभरि डर लाग्ने लक्षण, २७.२ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५.२ प्रतिशतमा आत्तिने डर देखिएको छ।
त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक सन्देश ढकालका अनुसार अध्ययनका अनुसार ६.८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२.६ प्रतिशतमा कम खालको डिप्रेसनसमेत देखिएको छ। उनी पनि अध्ययन टोलीमा संलग्न थिए।
‘मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रूप लिन सक्दछ। त्यसैले जति छिटो उनीहरूको समस्या पहिचान गरी उपचार गर्नै पर्दछ’ ढकाल भन्छन्, ‘ केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार सुरु गरेका छौँ। त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्दछ।’
यो प्रविधिअनुसार मानसिक समस्याबाट ग्रस्त बालबालिकालाई कम्प्युटरमा विभिन्न प्रकारको खेल खेलाउने, चित्र तथा तस्बिर देखाउनेलगायतका गतिविधि गरिन्छ। यसले बालबालिकालाई एक्लोपनाबाट जोगाउँछ र मानसिक तनावबाट मुक्ति दिने मनोविज्ञहरूको विश्वास छ।
अध्ययनमा सहभागी भएकी किङ्स कलेज लन्डनका सहप्राध्यापक जेनिफर एफ लाउका अनुसार भारतमा पनि श्रमिक बालबालिकामा यस्तै प्रकारको समस्या छ। आफूले भारतमा पनि अध्ययन गरेको बताउँदै उनी भन्छिन्, ‘भारतमा बालबालिकामा देखिएको मानसिक समस्या र नेपालको बालबालिकामा देखिएको मानसिक समस्या उस्तै प्रकारको छ।’ श्रमिक बालबालिकालाई उद्धार गरेर उद्धार गृहमा लगिए पनि उनीहरूलाई मानसिक समस्याको परीक्षण गर्ने, उनीहरूलाई उपचार तथा परामर्शको लागि आवश्यक पर्ने विज्ञको अभाव रहेको अध्ययनको क्रममा देखिएको थियो। त्यसबाहेक उद्धार गृहमा पनि सिनियरले जुनियरलाई विविध प्रकारको दुव्र्यवहार गर्ने गरेका छन्।
मानसिक रोगीको जति छिटो पहिचान गरिन्छ, उपचार पनि त्यति नै छिटो हुने विश्वव्यापी मान्यता छ। मानसिक समस्या भोगिरहेका बालबालिका कलिलो उमेरका भएका कारण उनीहरूको उपचारमा बेलैमा ध्यान दिन सकिएमा उनीहरूको सुन्दर भविष्य निर्माणमा सहयोग पुग्ने प्रतिवेदनको निष्कर्ष छ। ती बालबालिकाको उपचारमा सरकार तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने अध्ययनमा संलग्न सदस्यहरूको सुझाव छ।
प्रतिक्रिया