प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा : एपेन्डिसाइटिस फुटेकाले संक्रमणको जोखिम

प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा : एपेन्डिसाइटिस फुटेकाले संक्रमणको जोखिम

काठमाडौं मंसिर १० : एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको छ।उपचारमा ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधनमन्त्रीको पेटमा  एपेन्डिसाइटिस फुुटेको पाइएको छ।  शल्यक्रियाको क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको चिकित्सकले बताएका छन्। 

पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा पुगेका थिए। अहिले प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर भेन्टिलेटरमा राखिएको चिकित्सकको भनाइ छ। ‘समयमै प्रधानमन्त्री अस्पताल आइपुग्नु भएकाले शल्यक्रिया सफल भयो’, ति चिकित्सकले भने। 

प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन अस्पतालका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ खटिएका छन्। त्यस्तै उपचारका लागि डा. अरुण सायमीको नेतृत्वमा ६ चिकित्सक संलग्न छन्।मंगलबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा पुगेका थिए।  चिकित्सकले प्रधानमन्त्रीको  एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको जानकारी गराएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। 

मिर्गौला समस्याले नियमित डायलासिस 

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको चौथो पटक आइतबार (मंसिर ८ गते) ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उनी सक्रिय छन्। २५ दिनको अवधिमा आइतबार चौथो पटक डायलासिस गरिएको हो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्। 

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। 

चिकित्सकले यो विषयमा छलफल भने गरिरहेको स्रोतको दाबी छ। एपेन्सिसाइटिसको शल्यक्रियाले तत्कालका लागि प्रधानमन्त्रीको मिर्गौला पत्यारोपण भन्दा डायलासिस नै उचित उपचार विधि हुने एक चिकित्सकको भनाइ छ। 

अहिले प्रधानमन्त्री ओलीलाई असहज महसुस भए मात्र डायलाइसिस गरिँदै आएको छ। मिर्गौला पूर्णरूपमा फेल भएपछि सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको मिर्गौलाले काम गरिरहे पनि सुधारोन्मुख अवस्थाबारे सूक्ष्म ढंगले निगरानी भइरहेको चिकित्सकले बताएका छन्।

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ। annapurnapost

प्रतिक्रिया