बालबालिकामा व्यवहार परिवर्तन

बालबालिकामा व्यवहार परिवर्तन

बालस्वास्थ्य

हाम्रो भविष्य, समाज र राष्ट्रको लागि प्रत्येक बालक महत्त्वपूर्ण हुन्छन्। प्रत्येक राष्ट्रको भविष्यका कर्णधार यिनै बालबालिका हुन्। मुलुकको भविष्यको उत्तरदायी यिनीहरू नै हुन्।

आगामी दिनमा यी बालबालिका नै हाम्रो समाजका मार्गदर्शक हुन्छन्। तर हाम्रा बालबालिका कुन मनस्थितिबाट गुज्रिरहेका छन् त ? के हामीले कहिले विचार गरेका छौं ? यी बालबालिकाको मनोव्यवहारमा परिवर्तन किन आउँछ ? त्यसका कारणहरूबारे केही जानौं न त है।

बाल्यकालको तनाव

अचेल मानसिक तनाव अति नै गम्भीर समस्याको रूपमा बढिरहेको छ। अभिभावकले यी केटाकेटीलाई के को तनाव, यिनीहरूलाई कमाउनु पर्दैन, न त खर्च गर्नुपर्छ भनेर सोच्ने गर्छन्। घरमा बसेर खानु, पढ्नु र खेल्नु त छ नि भन्ने सोचाइ नै गलत हो। घरका केटाकेटीले आफ्ना अभिभावकबाट धेरै कुराहरू सिक्छन्। तनाव लिन पनि उनीहरूले अभिभावकबाटै सिक्छन्।

घरको आर्थिक अवस्थाको छलफल गर्नु, नातेदार, आफन्तको स्वास्थ्यसम्बन्धी चिन्ता गर्नु, पतिपत्नीको बीचमा विवाद हुनु आदि कारणले बालबालिकाको मस्तिस्कमा चाँडै प्रभाव पार्छन्। यस्ता व्यवहारबाट बालबालिकाले सजिलैसँग सिक्छन् र आफू पनि तनावग्रस्त हुन जान्छन्।

अचेलका केटाकेटीहरू घरबाट बाहिर गएर खेल्न पाउँदैनन्। उनीहरूको अधिकांश समय टेलिभिजन, मोबाइल, कम्प्युटर र इन्टरनेटमै बित्छ। के यसमा उनीहरूकै गल्ती छ त ?   घर, कोठाभन्दा बाहिर गएर खेल्ने पार्क नहुनु र खुल्ला वातावरणमा खेल्न नपाउनु पनि बालबालिकामा उदासीपन बढ्ने कारण हो। यस्ता कुरालाई हामीले जानेर पनि वास्ता गर्दैनौं।

टेलिभिजन तथा कम्प्युटर

टेलिभिजन तथा कम्प्युटरमा देखाइने प्राकृतिक विपत्तिका खबर, युद्ध, आतकंवादी गतिविधि, दुर्घटना, हत्या, हिंसा बलात्कार, अपहरण, बालयौन दुराचारजस्ता समाचारहरूले बालबालिकाको व्यवहारलाई प्रभावित पार्छ।

घरको वाताबरण

जुन घरमा आमाबाबु बीचमा पारपाचुकेको प्रक्रिया चलिरहेको छ, त्यस घरका बालबालिका जीवनको सबैभन्दा खराब समयबाट गुज्रिरहेका हुन्छन्। पारपाचुकेको प्रक्रियामा बालबालिकाले आमाबाबुमध्ये कुनै एउटालाई रोज्नुपर्ने हुन्छ। यस्तो मनोदशामा व्यवहारजन्य परिवर्तन आउनु अनिवार्य हुन्छ।

इन्टरनेट

नयाँ प्रविधिले यी परिस्थिति र मानसिक व्यवहारलाई अझ मलजल गरी बढावा दिने गर्छ। अचेलका बालबालिका कम्प्युटरको अगाडि मूर्तिझैं घण्टौं बसिरहन्छन्। सुरुआतमा केही सिक्ने इच्छाले, फेरि भिडियो गेम खेल्न, त्यसपछि साथीहरूसँग एसएमएस र च्याट गर्नाले दिनभरि नै उनीहरूको दिमागमा इन्टरनेट नै घुमिरहन्छ। इन्टरनेटको लत कुनै रोगभन्दा कम छैन। मोबाइल, ट्याब, कम्प्युटरसँग जति लगाब बढ्दै जान्छ, त्यति नै उनीहरूको व्यवहारमा द्रुत गतिले परिवर्तन आउँदै जान्छ।

विकृत भोजन

केटाकेटीको फास्टफुड खाने बानीले पनी उनीहरूको व्यवहारलाई प्रभावित पार्छ। खानामा हरियो सागसब्जी, फलफूल तथा दूधको कमीले केटाकेटीमा अल्छीपना ल्याउँछ। उनीहरूमा मोटोपना आउनु पनि सन्तुलित भोजनको अभाव हुनु हो।

अध्ययनको दबाब

अचेलको बढ्दो प्रतियोगिताको दबाबले पनि केटाकेटीको व्यवहारलाई प्रभावित गर्छ। अधिकांश केटाकेटी स्कुलबाट घरमा आउने बितिक्कै ट्युसन पढ्न वा होमवर्कको तयारीमा लागिहाल्छन्। जब पढाइ वा होमवर्क सकिन्छ त्यतिखेर उनीहरू तनावमा हुन्छन्।

लक्षण

एकान्तमा बस्नु, व्यवहारमा चिडचिडापन देखिनु, कसैसँग कुरा गर्न मन न पराउनु, ससाना कुरामा पनि चाँडै रिसाउनु, अपशब्द वा नराम्रो वाक्यको प्रयोग गर्नु, ठूलाबडाको आदर सम्मान नगर्नु आदि व्यवहार परिवर्तनका प्रमुख लक्षणहरू हुन्।

बचाउने उपाय

केटाकेटीको मनस्थितिलाई बुझेर उनीहरूलाई मानसिक तनावबाट ग्रस्त हुनबाट बचाउनु अभिभावकको कर्तव्य हो। केटाकेटीको सामुन्ने घरको आर्थिक हानिनोक्सानी तथा अभावका कुराहरू गर्नु हुँदैन। लडाइँ झगडा तथा चिन्ता लिने वातावरण आउन दिनु हुँदैन। केटाकेटीले मोबाइल, इन्टरनेट, चलाउँदा यिनीहरूको गतिविधिमा ध्यान दिने गर्नुपर्छ। त्यसरी नै खानपिनसम्बन्धी सही जानकारी उनीहरूलाई दिनु अति जरुरी हुन्छ। कम्प्युटर, मोबाइल, टीभीमा कति समय बिताइरहेका छन् भन्ने पनि जानकारी लिनु आवश्यक छ। मानसिक स्वास्थ्यका लागि खेल पनि उत्तिकै जरुरी हुन्छ। त्यसैले बालबालिकाको मनोव्यावहारिक समस्यामा कमी ल्याउन बालबालिकाका साथै अभिभावकलाई पनि परामर्श दिनु लाभदायक हुन्छ। annapurnapost.

प्रतिक्रिया