बावुद्वारा छोरी बलात्कृत : पीडित बालिका स्कुल जान छोडिन

बावुद्वारा छोरी बलात्कृत : पीडित बालिका स्कुल जान छोडिन

खजुरा मंसिर १४: बाँकेको खजुरा गाउँपालिकामा बावुद्वारा छोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय धनौली इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार ४२ वर्षीय बावुले १५ वर्षीया माइली छोरीलाई बलात्कार गरेका हुन् । उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरी र छोराको बिहे भइसकेको छ । 

गत १२ असारमा भएको बलात्कारको घटना १० मंसिरमा पीडितकी आमाले छोरीका तर्फबाट इप्रकामा जबरजस्ती हाडनाता करणीको जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । 

प्रहरीले सोही दिन अभियुक्त बावुलाई पक्राउ गरी जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि सात दिनको म्याद पाएको छ । बलात्कारको घटना परिवारका सबै सदस्यलाई थाहा थियो ।

एक पटक सुध्रने मौका दिने भन्दै उनीहरुले ढाकछोप गरेका थिए । प्रहरीमा जाहेरी दिने दिन पनि अभियुक्तले जाँड खाएर पत्नीलाई कुटेका थिए । घर बनाउने ज्यामीको काम गर्ने अभियुक्त नसुध्रेपछि प्रहरी गुहारेका थिए ।  

‘४ असारमा रक्सी खाएर कुटपिट गरेपछि पत्नी माइत गइन् । पत्नी नभएको मौका छोपी १२ असारको राति ११ बजे बावुले छोरीलाई बलात्कार गरेको जाहेरी परेको छ । अभियुक्त बावुले प्रहरीसँगको प्रारम्भिक बयानमा ‘जाँड खाएको बेलामा एक पटक मात्र ‘सँगै सुतेको’ बताएका छन्’, इप्रका प्रमुख थपलियाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पीडित बालिकाले जाँड खाएको बेलामा बावुले पटक–पटक ‘करणी’ का लागि धम्काउने गरेको बताएकी छिन् ।’

कक्षा ९ की विद्यार्थी बालिका बलात्कारको घटनापछि विद्यालय जान छोडेकी छन् । प्रहरीले बालिकालाई पुनः विद्यालय पठाउन मानव अधिकारकर्मी र सामाजिक मनोपरामर्शदाताको सहयोगमा लिइरहेको जनाएको छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले १८ वर्षभन्दा कम उमेरलाई बालिका मानेको छ । कानुनले यो उमेर समूहका बालिकासँग सहमतिमा गरेको करणीलाई पनि बलात्कार मानेको छ । 

यस्तो कसुरमा चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैदको व्यवस्था छ भने हाडनातामा करणीको महलमा बावुले छोरी करणी गर्दा जन्मकैद (२५ वर्ष) को व्यवस्था छ । यी अभियुक्त बावुलाई ऐनका दुबै महल प्रभावित हुँदा अधिकतम् ३९ वर्षसम्म कैद हुनसक्छ । annapurnapost

प्रतिक्रिया