सन् १९८४ को पहिलो साग सम्झँदै रंगशाला

सन् १९८४ को पहिलो साग सम्झँदै रंगशाला

काठमाडौँ । तेस्रो पटक नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजेबाट उद्घाटन समारोह सुरू हुने समारोहका सचिव कुलबहादुर थापाले बताए ।

पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् १९८४ मा यही रंगशालाबाट सुरू भएको थियो । त्यसपछि आठौं साग सन् १९९९ भएको थियो । जसको उद्घाटन र समापन समारोह पनि दशरथ रंगशालामा नै गरिएको थियो ।

२०७२ को महाभूकम्पपछि क्षति भएको दशरथ रंगशालालाई पुनर्निर्माण गरी १३औं सागका लागि तयार गरिएको छ । उद्घाटन समारोहका लागि रंगशालालाई बेहुलीझैं सिंगारिएको छ ।

उद्घाटन समारोहको मुख्य आकर्षणका रूपमा दीपक वज्राचार्यको चर्चित गीत मनमगन रहनेछ । त्यसैगरी कुन्ति मोक्तान, आनन्द कार्कीलगायतका चर्चित गायकले समेत उद्घाटन समारोहको माहौल तताउनेछन् ।

७ हजार ५ सयले उद्घाटन प्रत्यक्ष देख्ने

उद्घाटनमा मनमगनदेखि मानव साङ्लोसम्म

१६ हजार आमन्त्रित दर्शकमाझ ७ हजार ५ सय जनाले उद्घाटन समारोहमा हेर्नेछन् । गत शुक्रबार उद्घाटन समारोहको रिहर्सल गरिएको थियो ।

३ घन्टा १५ मिनेटको उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत विद्यार्थी तथा कलाकारहरूले सातै प्रदेशको सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् । सातै देशको मानव निर्मित झन्डासमेत बनाइनेछ ।

खेलाडी मार्चपासमा नेपालको तर्फबाट ओलम्पियन कमलबहादुर अधिकारीले टर्च नेपालको झण्डा बोक्ने तय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

सातै प्रदेशमा घुमाएर ल्याइएको ओलम्पिक टर्चलाई ओलम्पियनहरूले रंगशालामा परिक्रमा गरेपछि दक्षिण एसियाली खेलकुदका किर्तिमान पदकधारी दीपक विष्टले ओलम्पिक टर्च प्रज्ज्वलित गर्नेछन् ।

समारोहमा खेलाडीको तर्फबाट क्रिकेटका पारस खड्का र निर्णायकका तर्फबाट दीपक श्रेष्ठले शपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया